खेलाडी सहयोगमा जोकोभिचको अग्रसरता

5.46K
shares

ज्यूरिच,एजेन्सी ।

विश्व टेनिस वरियताका शीर्ष खेलाडी नोभाक जोकोभिचले रोजर फेडेरर र राफेल नाडालसँग मिलेर तल्लो वरियताका खेलाडीहरुलाई सहयोग गर्न अग्रसरता देखाएको छ। कोरोना भाईरसका कारण सबैखाले टेनिस प्रतियोगिता स्थगित रहेको वर्तमान अवस्थामा जोकोभिचले यस्तो खाले सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्। सहयोग जुटाउन जोकोभिचले फेडेरर र नाडालसँग पनि कुरा गरेको बताइएको छ।

जोकोभिचले भने,–‘हामीले टेनिसको भविष्यको बारेमा धेरै कुराकानी गर्यौं। टेनिसको भविष्य कस्तो होला भनेर चिन्तित पनि छौं। हामीले तल्लो वरियता प्राप्त खेलाडीलाई कसरी मद्दत गर्न सकिन्छ भनेर छलफल गरेको छौं। दुई सयभन्दा माथिका वरियता प्राप्त खेलाडीलाई टेनिस फेडेरेसनको समर्थन छैन। उनीहरु खेल छोड्ने मनस्थितिमा पुगेका होलान्।’

शीर्ष वरियताका खेलाडी, एटीपी टूर र चारवटै ग्रान्डस्लाम मिलेर खेलाडी राहत कोषमा सहयोग गरी एटीपीको अगुवाईमा ती संकलित रकम वितरण गर्नुपर्ने जोकोभिचले बताए। उक्त राहत कोषमा ५५ करोड नेपाली रुपैयाँ बराबर रकम संकलन हुने सम्भावना रहेको बताईएको छ।

कोरोना महामारीका कारण यसवर्ष हुनुपर्ने चार ग्रान्डस्लाममध्ये अस्ट्रेलियन ओपन मात्र सम्पन्न भएको छ। जसमा नोभाक जोकोभिच नै च्याम्पियन बनेको थियो । उनले अस्ट्रियाका डोमिनिक थिएमलाई हराएर आठौ पटक उपाधि उचालेका हुन। त्यस्तै महिला एकलतर्फको खेलमा भने अमेरिकाकी सोफिया केनिनले स्पेनकी गार्बिन मुगुरुजालाई हराएर पहिलो पटक उपाधि जितेकी थिईन।

त्यसपछि हुनुपर्ने अन्य तीन ग्रान्डस्लामको भविष्य भने अन्योल नै रहेको छ ।
वर्षको दोस्रो ग्रान्डस्लाम विम्बल्डन रद्द भइसकेको छ भने पेरिसमा हुने फ्रेन्च ओपन पनि २० सेप्टेम्बरसम्मका लागि सारिएको छ। वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम यूएस ओपन भने पूर्व निर्धारित मिति ३१ अगस्तदेखि १३ सेप्तेम्बरबीच सफलतापूर्वक सम्पन्न हुने अनुमान गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083