काठमाडौंका सडक २ वर्षमा कालोपत्रे, उकालोमा ढलान हुन्छः नेता नेपाल

4.55K
shares

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘सुखी नेपाली र समृद्धि नेपाल’ को अभियान सफल हुने बताएका छन् । सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिको शुरुवात भइसकेको बताएका हुन् ।

नेता नेपालले शङ्करापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाडौं उपत्यकाका सबै सडक आगामी दुई वर्षभित्रमा कालोपत्रे हुने र उकालोमा ढलान हुने बताए । विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माण कार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहरिने नेता नेपालको भनाइ थियो ।

देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उनले नेकपाको दुई तिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने चर्चा गरे।