कांग्रेस आर्थिक नीतिको तयारीमा : कर घटाउने, लगानी बढाउने

5.64K
shares

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको नयाँ आर्थिक नीतिबारे बहस सुरु भएको छ ।

पार्टीको आर्थिक नीति मस्यौदा तयार गर्नका लागि सह-महामन्त्री डा.प्रकाशशरण महतको संयोजकत्वमा गठित समितिले अहिले यस विषयमा सुझाव लिने काम गरिरहेको छ । विज्ञहरु डा. स्वणिर्म वाग्ले, डा. गोविन्द पोखरेल, डा. पोषराज पाण्डे, अच्युत वाग्ले र डा. विश्व पौडेलसँग समग्र आर्थिक नीति मस्यौदा तयारीका सन्दर्भमा आवश्यक सहयोग लिने निर्णय समितिले गरेको छ ।

संयोजक महतले कात्तिकभित्र सुझाव संकलन गरी मंसिर अन्तिममा बस्ने केन्द्रीय समितिमा मस्यौदा पेश गरिने जानकारी दिए । ‘राष्ट्रिय स्तरका आर्थिक, सामाजिक क्षेत्रका विज्ञ, उद्योगी, व्यवसायी भ्रातृसंघका केन्द्रीय प्रतिनिधि साथीसंग पनि कात्तिकभित्र सुझाव संकलन गरिसक्ने निर्णय भएको छ’ उनले भने ।

समितिले कात्तिक २५ गते भक्तपुरमा ३ नं. प्रदेशका पार्टी सभापतिलगायत विज्ञहरुसँग सुझाव लिनेछ । यसअघि पोखरामा साविकका गण्डकी, धौलागिरी र लुम्बिनी अञ्चलका जिल्लाका पार्टी सभापति तथा विज्ञहरुसँग सुझाव लिइसकेको महतले जानकारी दिए । समितिले मंसिर लागेपछि एकीकृत मस्यौदा लेख्ने जनाएको छ ।

के के आउँदैछ आर्थिक नीतिमा ?

नेता महतले भूमि केन्द्रित उत्पादनमा बढावा दिएर आर्थिक समृद्धिमा पुग्न सकिने धारणा राखे । करको दर कम राख्ने र दायरा फराकिलो बनाउने, विद्युतको आन्तरिक खपत बढाउने, आयात प्रतिस्थापन गर्नेलगायतका विषय पनि प्राथमिकतामा परेको उनले जानकारी दिए ।

पहिलो प्राथमिकतामा भने भूमिको प्रयोगबाट उत्पादन बढाउनेतिरै रहेको संयोजक महतले बताए । ‘हाम्रो पहिलो प्राथमिकता उत्पादन कसरी बढाउने भन्ने नै हो । त्यसमा पनि भूमि केन्द्रित उत्पादन बढाएर कृषि उपजको आयात प्रतिस्थापन रोक्नुपर्छ’, संयोजक महतले भने । उत्पादन र वितरणलाई संगसंगै लैजानुपर्ने उल्लेख गर्दै महतले रोजगारी बढाउने र उत्पादन लागत घटाउने गरी नीति बनाउने बताए । ‘उत्पादनको मूल्य भन्दा लागत ज्यादा छ । यसलाई कसरी कम गर्न सकिन्छ भन्नेमा हामी केन्द्रित छौं’, महत भन्छन्, ‘कृषकहरुलाई कसरी बढी भन्दा बढी राहत दिन सकिन्छ भन्ने विषय पार्टीको आर्थिक नीतिमा समेटिनेछ ।’

करको दायरा फराकिलो बनाउने विषयलाई पनि उच्च प्राथमिकतामा राख्ने संयोजक महतले बताए । ‘कर कम गरेपछि स्वदेशी विदेशी लगानी बढ्छ । लगानी बढेपछि उद्योग व्यावसाय बढ्छ । उद्योग व्यावसाय बढेपछि करको दायरा बढ्छ र राजश्व बढ्छ’ संयोजक महतले भने ।

डिजेल र पेट्रोलको आयात प्रतिस्थापन

ब्यापारघाटा कम गर्ने उपाय आयात प्रतिस्थापन नै प्रमुख विकल्प भएको कांग्रेसको भनाइ छ । त्यसका लागि विद्युतमा आन्तरिक खपत बढाउनुपर्ने र डिजेल र पेट्रोलको आयात प्रतिस्थापन गर्नुपर्ने महत बताउँछन् । खाना पकाउने ग्यास र यातायातमा विद्युतको प्रयोग हुन सक्ने र त्यसले पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) को आयात रोक्ने महतको बुझाइ छ । ‘

ब्यापार घाटा कम गर्न आयात प्रतिस्थापन गर्नुपर्छ । तत्काल कुकिङ र यातायातमा विद्युतको प्रयोग गर्न सकिन्छ’ महतले भने, ‘यसले व्यापारघाटा कम गर्न मद्दत पुर्‍याउँछ ।’ ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै नेता महतले उर्जामा लगानी गरेपछि प्रतिफल सुनिश्चित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय स्तरमा फैलाइनुपर्छ भनेर विज्ञहरुसँग सल्लाह गरिरहेको बताए ।


divya collage
unigloble collage