नेविसंघका पदाधिकारीहरु राजीनामा दिने मनस्थितिमा, देउवाको प्रयास व्यर्थ जाने खतरा

5.29K
shares

काठमाडौं। नेपाल विद्यार्थी संघ नेविसंघकै पदाधिकारीको चाहना विपरीत माउ पार्टी नेपाली कांग्रेसले नेविसंघको कार्यसमितिको कार्यकाल थप दुई महिना थपेपछि पदाधिकारीहरु राजीनामा दिनुपर्ने मनस्थितिमा पुगेका छन् ।

काँग्रेस केन्द्रिय समिति बैठकले आइतबार राति बहुमतका आधारमा नेविसंघको वर्तमान कार्यसमितिको म्याद दोश्रो पटक थप गरेको हो । गत २ भदौसम्म वर्तमान निर्वाचित कार्यसमितिको म्याद भए पनि विधान अनुसार तीन महिना थप गरेर २ मंसिरसम्म पुर्याइएको थियो । त्यसपछि फेरि दुई महिना थपेर माघ २ गतेसम्म पुर्याइएको छ ।

आइतबारको बैठकमा म्याद थप गर्ने कि विघटन गर्ने भन्नेमा नेताहरु बीच विवाद थियो। तर बैठकले विवाद बीच पुनः दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो। शनिबार र आइतबार गरी सो विषयलाई टुंगो लगाउन भन्दै नेताहरु दिनभर जसो अनौपचारिक बैठकमा बसेका थिए।

तर नेताहरु कुनै एक विकल्पमा सहमत हुन नसक्दा सभापति शेरबहादुर देउवाले बहुमतबाटै २ महिना थप गर्ने निर्णय गरेका हुन् । दुई महिना थप भएसँगै अब वर्तमान नैनसिंह महर अध्यक्ष रहेको समितिको म्याद अब २ माघसम्म रहने छ। बैठकले यसअघि निर्णय भएको ३२ वर्षे उमेरहदलाई समेत लागू गर्ने निर्णय गरेको छ।

काँग्रेसका नेताहरु पनि कोही ६ महिना थप्नुपर्ने र कोही तदर्थ समिति बनाउनु पर्ने पक्षमा थिए । नेविसंघ भित्र पनि विभिन्न गुट उपगुट भइरहँदा दुई महिनाभित्रै चुनाव गर्ने सम्भावना छैन । अध्यक्ष महर र महामन्त्री कुन्दनराज काफ्लेले दुई महिनाभित्र निर्वाचन गर्न सक्ने सम्भावना नरहने भन्दै दुई महिनामात्र समय थप गरिए राजिनामा दिन तयार रहेको भन्दै नेतृत्वलाई दबाब दिंदै आएका थिए ।

आइतबार रातिको उक्त निर्णयपछि नेविसंघका पदाधिकारीहरु सामुहिक र छुट्टाछुट्टै अबको रणनीति बनाउन बसिरहेका छन् । महामन्त्री काफ्लेले सोमबार बिहान बिभिन्न चरणमा छलफलमा बसेको र अधिकांश पदाधिकारीहरु राजीनामा नै गर्नुपर्ने मनस्थितिमा रहेको बताए । अध्यक्ष महरसंगै पनि बसेर छलफल भइसकेको भन्दै काफ्लेले भने, ‘हामी सरसल्लाह गर्दैछौं, तर अधिकांश साथीहरुले सामुहिक राजीनामा दिनुपर्ने भन्नुभएको छ ।’

काफ्लेले मंगलबारसम्म पदाधिकारीले एउटा निर्णय गर्ने पनि बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न पार्टीको महासमिति बैठकमा नेविसंघको विवाद विषयले प्रवेश नपाओस् भनी छोटो समय थपे पनि यो समस्या झन् बल्झेर जाने देखिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083