यातायात कार्यालयमा छ हजार वटा ब्ल्यु बुक र मार्ग अनुमतिपत्र
वि.सं.२०७५ मंसिर ६ बिहीवार १६:११
shares

काठमाडौं । सडक नियम उल्लङ्घन गरेर कारवाहीमा परेका धेरै सवारीधनीले सवारीधनी प्रमाणपत्र (ब्ल्यु बुक) र मार्ग अनुमतिपत्र लैजाने गरेका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सानाठूला सवारी शाखामा अहिले पनि झण्डै पाँच वर्ष पहिलेदेखिका कागजात बाँकी छन् । झण्डै छ हजार वटा ब्ल्यु बुक र मार्ग अनुमतिपत्रका कागजात अहिले पनि पटके शाखामा छन् ।
पछिल्लो पाँच वर्षयता चारपाङ्ग्रे सवारीको तीन हजार ९६४ वटा कागजात सवारीधनीले लगेका छन् । धेरै समय राखेर मात्रै लिन आउने गरेको शाखामा कार्यरत सनिल श्रेष्ठले बताए । उनले भने, “कागजात थुप्रिएर राख्ने ठाउँ नै छैन । साउनदेखि यता ४३१ वटा कागजात सवारीधनीले लगेका छन् । पहिले व्यवसायी सङ्घले कागजात लाने गरेकामा अहिले सवारीधनी आफैँले लान्छन् ।
सडक नियम उल्लङ्घन गर्दा ट्राफिक प्रहरीले एक हजारसम्म आफैँ चिट काट्ने र त्योभन्दा बढी हुँदा यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्दछ । कार्यालयले तोकिएको जरिवाना रकम तिरेको रसिद हेरेर ती कागजात फिर्ता पठाउने गरेको कार्यालयका प्रमुख वसन्तप्रसाद पन्थीले बताए ।











