सुजाता निवासमा देउवा बिरोधीहरुको’दिवा भोज’

4.29K
shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटारमा दोश्रो पटक सभापति शेरबहादुर देउवाबिरोधी नेताहरु भेला भएका छन् । महासमिति बैठक नजिकिदै गर्दा सभापति देउवाको बिपक्षी नेताहरुको भेला बाक्लिएको हो ।

बिपक्षी नेताहरुको स्वागतमा नेतृ कोइरालाले दिवा भोजको समेत आयोजना गरेका छन् । बिहान १० बजेपछि शुरु भएको भोजमा पौडेल र कोइराला पक्षका साथै युवा नेताहरुको समेत सहभागिता रहेको छ । कुनै औपचारिक कार्यक्रम नभए पनि नेतृत्वबिरुद्ध संघर्षको ‘गेम प्लान का लागि भोजको आयोजना गरिएको बुझिएको छ।

भोजमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा। रामशरण महत लगायतका नेताहरु पुगेका छन् । युवा नेताका रुपमा संघर्ष गर्दै आएका धनुराज गुरुङ, गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, रामकृष्ण यादव, प्रदीप पौडेल लगायत पनि सहभागी छन्।

यस अघि गत कार्तिक २६ गते कोइराला निवासमा पहिलो भेला बसेको थियो। उक्त भेलामा वरिष्ठ नेता राम चन्द्र पौडेल, महामन्त्री शशांका कोइराला तथा नेताहरू प्रकाशमान सिंह, डा.शेखर कोइराला, डा.रामशरण महत र अर्जुननरसिंह केसी सहभागी छन् । बैठकलाई नेता कृष्ण सिटौलाको पनि समर्थन रहेको बुझिएको छ ।

विजयकुमार गच्छदारलाई उपसभापति बनाइपछि थप असन्तुष्ट बनेका बरिष्ट नेता रामचन्द्र पौडेल कोइराला परिवारसंग नजिकन थालेका छन् । अघिल्लो महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका नेता अर्जुन नरसिंह केसी यसपटक भने देउवाविरुद्ध नै सघर्ष गरिरहेका छन् ।

यता युवा पुस्ताका चर्चित नेता गगन थापा पनि सभापति देउवाविरुद्ध आक्रामक बनेका छन् । उनले सभापति विरुद्ध २५ कार्तिकमा सार्वजनिक कार्यक्रमवाट नै मुख खोलेर आक्रामक बनेको संदेश समेत दिएका थिए ।

त्यसो त युवा नेताहरुले दुई पटक भेला नै डाकेर छलफल चलाएका छन् । पुरानो बानेश्वरस्थित सिद्धार्थ कटेजमा बसेको बैठकमा केन्द्रीय सदस्य चन्द्र भण्डारीसहित नेताहरु धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, गगन थापा, जीवन परियार सहभागि थिए । युवा नेताहरुले बिशेषतः पार्टीमा ७० वर्षे हदबन्दीको लबिङ सुरु गरेका छन् । स्मरण होस् अघिल्लो बर्षको चैत र गत वैशाखमा बसेको केन्द्रीय कार्य समितिको बैठकमा युवा नेताहरुले छुट्टै प्रस्ताव पेस गरेका थिए। त्यस्तै गत असारमा हेटौंडामा बसेको जिल्ला सभापतिहरुको भेलामा पनि युवा नेताहरुको छुट्टै प्रस्ताव प्रस्तुत भएको थियो ।