प्रहरीको ‘हिट लिस्ट’मा रहेका विप्लव सुटुक्क काठमाडौंमा

5.4K
shares

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुटुक्क काठमाडौं आएको खुलासा भएको छ । यही मंसिर ८ गते तत्कालीन नेकपा माओवादीको लडाकु पूर्व जनमुक्ति सेना दिवसको अवसरमा आयोजना गरिएको शक्ति प्रदर्शनका क्रममा विप्लव काठमाडौं छिरेका हुन् ।

शनिबार विप्लव नेतृत्वको नेकपाले काठमाडौंको भृकृटीमण्डपमा बृहत् जनसभा आयोजना गरेको थियो । पछिल्लो डेढ वर्षयता विप्लवको पार्टीले काठमाडौंमा गरेको जनसभामा झण्डै १० हजार बढीको उपस्थिति रहेको सुरक्षा निकायको अनुमान छ ।

स्रोतका अनुसार विप्लव जनसभामा भने सहभागी भएनन् । त्यसअघि विप्लव गोप्य रुपमा सहभागीको रुपमा जनतासँगै सभामा दर्शकका रुपमा सहभागी हुने चर्चा चलेको थियो । तर, विप्लवले काठमाडौंमै एकजना कार्यकर्ताको घरमा बसेर जनसभा हेरेको एक नेताले बताए । ‘‘उहाँ (विप्लव) मंसिर ७ गते काठमाडौं आउनुभएको हो । ९ गते साँझ काठमाडौंबाट बाहिरिनुभयो,’’ ती नेताले भने ।

काठमाडौंमा रहँदा विप्लवले सीमित नेता–कार्यकर्तालाई मात्र भेटेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले विप्लव काठमाडौंको छेउछाउमा आएको सूचना आएको बताए । ‘‘कार्यक्रममै त होइन, छेउछाउमा आए भन्ने सूचना थियो,’’ एसएसपी लामाले भने । आन्तरिक सुरक्षामा चुनौती बन्दै गइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिर ८ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

उनी औपचारिक रुपमा कुनै पनि कार्यक्रममा देखिएका छैनन् । विप्लवलाई १२ जना पूर्व जनमुक्ति सेनाले सुरक्षा दिँदै आएको स्रोतको दाबी छ । विप्लवलाई पक्राउ गर्न भोजपुर जिल्ला अदालतले गत पुस ९ गते ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसुरमा पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । भोजपुर अदालतले उनको नाममा वारेन्ट जारी गरेको छ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदी प्रहरीले कानुनविपरीत गतिविधिमा संलग्न जोकोहीलाई पनि पक्राउ गर्ने बताउँछन् । नेकपाका नेता–कार्यकर्ताविरुद्ध विभिन्न जिल्लामा मुद्दा छन् । पछिल्लो समय सरकारले नेकपासँग वार्ताको प्रयास गरेपनि ठोस सहमति भने हुन सकेको छैन । गत साउन २२ मा ७ करोड चन्दा संकलनको आरोपमा नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083