संघीयता लागू भएपछि पहिलो पटक अन्तर प्रदेश परिषद्को बैठक
वि.सं.२०७५ मंसिर २३ आइतवार ११:२१
shares

काठमाडौँ । नयाँ संविधान बनेर संघीयता लागू भएपछि आइतबार सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अन्तरप्रदेश परिषद्को बैठक आह्वान बोलाएका हुन्। मुलुकमा सङ्घीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयमा आएपछि भए गरेका काम कारवाहीको समीक्षाका लागि उक्त परिषद्को बैठक बोलाइएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार सङ्घीय शासन प्रणाली अवलम्बनका क्रममा भए गरेका काम कारवाहीको विषयमा बैठकमा समीक्षा हुनेछ। बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भए गरेका कामका बारेमा जानकारी गराउने कार्यक्रम छ। बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले गर्नुहुनेछ। बैठकमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनेछन्।
सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशको काम कारवाही र समस्याका बारेमा जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेपालको संविधानको धारा २३४ ले अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ। सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो। बैठकमा सङ्घीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा समेत छलफल हुनेछ।





























