कहाँ जान्छन् सांसद ? कोरम नपुगेपछि समिति बैठक स्थगित
वि.सं.२०७५ मंसिर २५ मंगलवार १४:२७
shares

काठमाडौं । मंगलबार बिहान सिंहदरबारमा बोलाइएको संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ । अर्थ समितिका अधिकांश सांसदहरुको अनुपस्थित भएपछि बिहान साँढे ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो। साँढे १२ बजेसम्म पर्खदा पनि कोरम नपुगेपछि बैठक बस्न नसकेको हो । दाहालले जानकारी दिए।
संयुक्त बैठकका लागि मस्र्याङदी–२ जलविद्युत आयोजनाको लाईसेन्स खरिव बिक्रीबारे विस्तृत छलफल गर्ने कार्यसूचि तय गरिएको थियो। भारतीय कम्पनी जिएमआरले सो जलविद्युत आयोजनाको लाईसेन्स बिक्री गरेपछि तत्सम्बन्धमा अध्ययन गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको थियो।
लाईसेन्स लिने तर आयोजनाको काम अघि नबढाउने कम्पनीलाई कार्वाहीको दायरामा ल्याउने विषयमा छलफल गर्न दुवै समितिको संयुक्त बैठक बोलाइएको पनि अर्थ समितिका सभापति दाहालले बताए। अर्थ समितिले सो सम्बन्धमा छानवीन गर्न उपसमिति गठन गर्ने योजना पनि बनाएको छ। संयुक्त बैठक बस्ने अवस्था नभए उपसमिति बनाएर भएपनि सो लाईसेन्स खरिद सम्बन्धमा आवश्यक छानवीनको कामलाई अघि बढाउने योजना रहेको अर्थ समितिका सभापति दाहालले बताए।




























