‘मेरै प्रयासमा ललितपुर महानगरपालिका भयो’ : मुख्यमन्त्री पौडेल
वि.सं.२०७५ पुस २ सोमवार १५:४७
shares

ललितपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तत्कालिन ललितपुर उपमहानगरलाई महानगरपालिका बनाउन आफूले ठूलो पहल गरेको दावी गरेका छन् ।
आइतबार ललितपुर नगरपालिका स्थापनाको सय वर्ष पुगेको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका पौडेलले यस्तो बताएका हुन् । ‘ललितपुरलाई महानगरपालिका बनाउने वा नबनाउने कुरामा दुईमत थियो’ पौडेलले भने, ‘ठूलो रुखको सेपमा बसुन्जेल ललितपुर उठ्नै सक्दैन । काठमाडौं र ललितपुरलाई सँगसँगै लैजानुपर्छ भने महानगरपालिका बनाउने निर्णय गरिएको हो ।’
काठमाडौ महानगरपालिकाको छत्रछाँयामा रहुन्जेल ललितपुर उठ्नै नसक्ने भएकाले यस्तो निर्णय गरेको उनको जिकिर थियो । ससाना टुक्रामा विभाजन भइरहँदा मुलुकको उन्नति नहुने भन्दै सिंगो उपत्यकालाई एउटा बनाउँदै त्यसको विकासमा प्रदेश तथा संघीय सरकारले सघाउनुपर्ने सुझाए । सबै भन्दा पुरानो नगरपालिकाको रुपमा सन् १९१८ मा स्थापना भएको यस नगरी विभिन्न रुपमा विकसित हुँदै महानगरपालिका बन्न पुगेको महानगरपालिकाका उपप्रमुख गीता सत्यालले बताइन् ।
































