नेकपा बैठकमा सुवास नेम्वाङ्गले भने, ‘सरकारको कामप्रति सन्तुष्ट छु’

5.11K
shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारको बचाउ गरेका छन् । गत शनिबारदेखि जारी पार्टी स्थायी समितिको शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै संसदीय दलका उपनेता नेम्वाङले सरकारको काम कार्वाहीप्रति आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

सरकारको काम कार्वाहीलाई लिएर धेरैजसो नेताहरुले असन्तुष्टि जनाईरहेका बेला उपनेता नेम्वाङले सरकारले ‘धेरै महत्वपूर्ण’ काम गरेको उल्लेख गर्दै त्यसको प्रचार जनस्तरमा पुर्‍याउन पनि पार्टीका नेताहरुलाई आग्रह गरे । उनले पार्टी एकताको सन्देश स्थानीय तहमा पुर्‍याउन ढिलाई गर्न नहुनेमा पनि जोड दिए । उपनेता नेम्वाङले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’को पत्रमा सरकार र संघीय संसदको लोगो प्रयोग गरेकोमा भने असन्तुष्टि व्यक्त गरे ।

यस अघिको बैठकका नेता भीम रावललगायतका नेताहरुले सो सम्मेलनमा सहभागी भएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्माआलोचना गर्नु पर्ने माग समेत गरेका थिए । बैठकमा नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा, अमिक शेरचनसहित ७ जना नेताहरुले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए । नेकपा स्थायी समितिको बैठक भोलि पनि पुनः बस्नेछ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083