दिगम्बर झा बर्खास्त पछि राजदूत लक्की शेर्पाको पालो!

4.32K
shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले पदबाट राजीनामा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विवादित मामिला सल्टाउन सहयोग गरेका छन् ।

झाको पुनर्नियुक्तिले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना गरेको थियो । कुनै मुद्दामामिला नभए पनि झालाई विवादित छविका प्रशासक मानिन्छ । स्थायी कमिटी बैठकमा नेता तथा पूर्वमन्त्री लेखराज भट्टले आफू मन्त्री हुँदा झाले नियुक्तिका लागि घुस दिने प्रस्ताव नै गरेको खुलासा गरे ।

स्थायी कमिटी बैठकमा विवादित झाबारे चर्चा भइरहँदा नेकपाकै ४२ केन्द्रीय सदस्यले झालाई बर्खास्त गर्न ज्ञापनपत्र बुझाए । विवाद बल्झिँदै जाँदा सरकारमाथि झालाई पदमुक्त गर्न दबाब परेको थियो । विवाद सल्टाउन सरकारसामु २ विकल्प देखिएका थिए – पहिलो झालाई नै राजीनामा गराउने र दोस्रो बर्खास्त गर्ने ।

झाले सुझबुझ पूर्ण तरिकाले राजीनामा गर्दै विवाद सल्टाउन सरकारलाई सुरक्षित सहयोग गरेका छन् । सरकारले बर्खास्त गर्नुपरेको भए झा अदालत जाने र विवाद कायमै रहने अवस्था पनि आउन सक्थ्यो । सत्तारुढ नेकपाभित्र विवाद बढाइ रहेको झाको पुनर्नियुक्ति विवाद सुरक्षित रुपमा उल्टिएको छ ।

अब लक्की शेर्पाको पालो !

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विवाद राजनीतिक रुपमा उठेको होइन । शेर्पाले नै दूतावासमा नियुक्त गरेका पूर्वचालक वाङ्छु शेर्पाले राजदूत लक्कीमाथि ‘मानव तस्करी’को आरोप लगाए पछि शेपा विवादमा आएकी हुन् ।

राजदूत विवादमा आएपछि त्यसलाई सल्टाउने दायित्व पनि सरकारकै काँधमा आउँछ । अन्तर्राष्ट्रिय रुपमा देशको प्रतिष्ठा कायमै राख्नु पर्ने भएकाले सरकारले उचित निर्णय लिनुपर्छ । शेर्पाको विवाद बढ्दै गएपछि यसबीच नेकपाकै नेताहरूले उनलाई फिर्ता बोलाउन माग गर्दै आएका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि शेर्पामाथि छानबिन गरी कारवाही गर्न माग गरेको थियो ।

विवादबारे बुझ्न र शेर्पामाथि छानबिन गर्न परराष्ट्र मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले शेर्पालाई राजदूतमा कायम राखिराख्न उचित नहुने सुझाव सहित परराष्ट्रमन्त्रीलाई रिपोर्ट बुझाएको छ । शेर्पाबारे अस्ट्रेलियाका स्थानीय पत्रपत्रिकामा समेत समाचार प्रकाशित भइ सकेकाले देशको प्रतिष्ठाका लागि भएपनि उनलाई फिर्ता बोलाउनुपर्ने अवस्था छ ।

शेर्पालाई फिर्ता बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि छलफल भएको सार्वजनिक भएको थियो । दुवै अध्यक्ष राजदूतलाई फिर्ता बोलाउन सकारात्मक छन् । तर लक्कीकै हितका लागि राजीनामाको विकल्प रोज्न सन्देश समेत पठाइएको छ । लक्कीले राजीनामा दिन ढिलाइ गरिरहेकी छन् ।

परराष्ट्र मन्त्रालयको छानबिनका समितिले राजदूत शेर्पाले आर्थिक तथा कुटनीतिक मर्यादाविपरित अनियमितता र पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिती एक सदस्यले बताए । उनी अस्ट्रेलिया मात्रै नभएर भविष्यमा अरु कुनै पनि देशको राजदूत हुन समेत अयोग्य ठहरिएको छानबिनका क्रममा भेटिएको बताइन्छ ।

परराष्ट्र मन्त्रालयले प्रशासन महाशाखा प्रमुख मणि भट्टराई, अस्ट्रेलिया समेत हेर्ने महाशाखा प्रमुख तापास अधिकारी र शिष्टाचार महापाल दीपक अधिकारी सम्मिलित तीन सदस्यीय छानबिन समितिले परराष्ट्रमन्त्री प्रदीज्ञ ज्ञवालीलाई प्रतिवेदन बुझाइ सकेको छ ।

राजदूत शेर्पाका सन्दर्भमा पनि राजीनामा सबैभन्दा सहज उपाय हो । तर शेर्पाले राजीनामा नगरेको अवस्थामा सरकारले नै निर्णय गरेर फिर्ता बोलाउँदै राजदूत विवाद सल्टाउन सक्छ । सरकारले फिर्ता बोलाएको अवस्थामा शेर्पाको भविष्यमा दाग लाग्नेछ । सरकारले छानबिन गर्दै कानूनी प्रक्रिया अनुसार कारवाही गरि रहेको छ । दिगम्बर झा विवादपछि राजदूत शेर्पा प्रकरण सल्टिने देखिएको छ ।

आफूमाथि भइरहेको छानबिन र कारवाहीबाट जोगिन राजदूत शेर्पा विभिन्न शक्तिकेन्द्र धाइरहेकी छन् । तर सम्मानित र मर्यादित पद मानिने राजदूत माथि गम्भीर आरोप लागेको अवस्थामा उनी राजदूत भइरहने अवस्था देखिँदैन । राजदूत शेर्पाले आफ्नै पूर्वचालक वाङ्छु शेर्पा माथि ठूलो अन्याय गरेको र मानव तस्करी गर्ने गरेको गम्भीर आरोप लागेको छ ।

कसरी ठगिए वाङ्छु शेर्पा?

लक्की राजदूत हुनुअघि नै वाङ्छु शेर्पा उनका पतिको सम्पर्कमा थिए । उनका पतिले अमेरिका पठाइदिने भन्दै २२ लाख रुपैयाँ लिएका थिए ।गाउँकै एक जनालाई अमेरिका पठाएकाले विश्वास २२ लाख रुपैयाँ दिएको पीडित वाङ्छु शेर्पाले बताएका छन् । त्यसपछि पनि १०–१० लाख गरेर २ पटक थप रकम दिइएको उनले बताए । अमेरिका पठाइदिने भन्दै पीडित शेर्पाले कूल ४२ लाख रुपैयाँ दिए ।

तर राजदूत दम्पतीले वाङ्छु शेर्पालाई अमेरिका पठाउन सकेनन् । उनले अमेरिकाको भिसाका लागि दरखास्त दिएपनि उनको भिसा भने लागेन र अमेरिका पठाउन नसकि रहेकै बेला लक्की शेर्पा राजदूत बन्ने चर्चा चल्यो ।

त्यस पछि वाङ्छु शेर्पालाई पनि दूतावासमै काम गराउने गरी अस्ट्रेलिया लैजाने सहमति भयो । शेर्पाले दूतावासमै चालकको काम गरे । राजदूत भए पछि शेर्पाले चर्को रकम लिएर नेपालीलाई अस्ट्रेलिया पठाउने धन्दा शुरू गरेको वाङ्छु शेर्पाको आरोप छ ।

आफूले दिएको पैसा वाङ्छु शेर्पाले फिर्ता माग्न थालेपछि राजदूत दम्पतीले चोरीको आरोप लगाएको र शेर्पाकी पत्नीलाई मुद्दा लगाएर थुनामा पठाएको पीडित शेर्पाको दाबी छ । वाङ्छु शेर्पाकी पत्नी अहिले पनि प्रहरीको थुनामै रहेकी छन् ।

राजदूतको चक्करमा परेर वाङ्छु शेर्पा परिवार अहिले नराम्ररी फसेको तथा शक्ति र पैसाको आँडमा राजदूत दम्पतीले मनपरी गरि रहेको दाबी गरिएको छ । राजदूत शेर्पाले आफू जस्तै अरुलाई पनि फसाउने गरेको वाङ्छुले आरोप लगाएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083