वाइडबडी प्रकरणको नालीबेली – यस्तो छ बहालवाला मन्त्री र दुई पूर्वमन्त्रीको पृष्ठभूमि
वि.सं.२०७५ पुस १८ बुधवार १५:३७
shares

काठमाडौं। नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितअन्तर्गत गठित छानबिन उपसमितिले बहालवाला मन्त्री र दुई पूर्वमन्त्री समेतलाई कारवाहीको सिफारिस गरेको छ । अनियमिततामा बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी तथा पूर्वमन्त्रीद्वय जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीको संलग्नता देखिएको उपसमितिको ठहर छ ।
‘महालेखा परीक्षकको ५५औं वार्षिक प्रतिवेदनमा विमान खरिद प्रक्रिया कानूनसम्मत् नभएको प्रष्ट उल्लेख हुँदाहुँदै मन्त्री अधिकारीले छानबिन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको तथा समितिमा आएर महालेखासँगको परामर्शमा रकम भुक्तानी दिएको भनी ढाँटेको उपसमितिको ठहर छ । ‘रकम भुक्तानी गर्न बदनीयतपूर्वक मिलेमतो गरेको देखिँदा जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिँदा प्रचलित कानूनबमोजिम कारवाही गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्दछौं,’ प्रतिवेदनमा भनिएको छ ।
नेपाली कांग्रेसका सांसद् राजेन्द्र केसी संयोजकत्वको उपसमितिले बुधवार समितिमा बुझाएको ५२ पेज लामो प्रतिवेदनमा पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई पनि कारवाहीको सिफारिस गरेको छ । दुवैले अनियमितताको नैतिक जिम्मेवारी लिनुपर्ने देखिएको भन्दै उपसमितिले उनीहरूलाई पनि कानूनसम्मत् कारवाहीका लागि निर्देशन दिन सिफारिस गरेको छ ।निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर्याइएको प्रतिवेदनमा विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको उल्लेख छ ।
यस्तो छ बहालवाला र पूर्वमन्त्रीको पृष्ठभूमि
रविन्द्र अधिकारी प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारका बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हुन् । २०६४ सालयताका तीनवटै निर्वाचनमा अधिकारी कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अधिकारी २०६५ देखि ०६८ सम्म लेखा समितिको सदस्य थिए । २०७० सालको संविधानसभा निर्वाचनपछि उनी संसदको विकास समितिको सभापति बनेका थिए ।
यस्तै विगतमा नेकपा एमालेको राजनीति गरेका जितेन्द्रदेव मधेश आन्दोलनपछि तत्कालीन मधेशी जनअधिकार फोरममा लागेका थिए । फोरम फुटेपछि उनी विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरममा सामेल भए । शेरबहादुर देउवा नेतृत्वको पूर्वबर्ती सरकारमा देव पर्यटन मन्त्री थिए । गच्छदारको पार्टी कांग्रेसमा समायोजनपछि देव पनि कांग्रेस प्रवेश गरे । उनी अहिले राष्ट्रियसभा सांसद हुन् ।





























