सरकारकै कमजोरीका कारण म्यानपावरबाट ठगिन्छन् युवा
वि.सं.२०७५ पुस २२ आइतवार ११:३८
shares

काठमाडौं । सरकारले म्यानपावर कम्पनी मार्फत ! सय भन्दा बढी देशमा वैदेशिक रोजगारीका लागि जाने श्रमिकका लागि श्रम स्वीकृति जारी गर्दै आएको छ। म्यानपावर कम्पनीमार्फत नै यति धेरै देशमा श्रम गर्न नेपाली कामदार जाने गरेका छन्। म्यानपावर कम्पनीमार्फत निकै ठूलो संख्यामा कामदार वैदेशिक रोजगारमा जाने गरेपनि सरकारले कुन देशमा जान कति खर्च लाग्छ भनेर लागत खर्च भने १२ वटा देशका लागि मात्र तोकेको छ।
सीमित देशमा सरकारले तोकेको लागत खर्च समेत कार्यान्वयन हुन सकेको छैन्। वैदेशिक रोजगारमा जाने क्रममा युवाबाट म्यानपावर कम्पनीहरुले मनपरी रकम असुल्दै आएका छन्। वैदेशिक राजगारीमा जाने युवाबाट म्यानपावर व्यवसायीले सरकारले तोकेको देशगत लागतभन्दा बढी नै रकम असुले पनि विदेश जान पाउँदा सबै युवा यस विषयमा चुपचाप लागेर रकम बुझाएर जाने गरेका छन्।
उनीहरु विदेश पुगेर ठगिएपछि म्यानपावर विरुद्ध ठगिको मुद्धा दर्ता गराउन विभागमा आउँदा मात्र म्यानपावरले बढी रकम असुलेर ठगेको खुल्ने गरेको बताउँछन् विभागका निर्देशक भोलानाथ गुरागाईँ। सरकारले मलेशियालगायत खाडी मुलुकमा जाने कामदारका हकमा २०७२ साल असार २१ गते देखि लागू हुने गरी फ्री भिसा, फ्री टिकट नीति ल्याएको थियो।
साउदी, कतार, ओमान, बहराइन, संयुक्त अरब इमिरेट्स ९युएई० र मलेशिया जाने नेपाली कामदारहरुका हकमा फ्री भिसा, फ्रि टिकट लागू भएको छ। सरकारले तोकेको लागत रकम १० हजार मात्रै हो। हाल यी देशमा जाँदा नेपाली कामदारका लागि रोजगारदाता कम्पनीले भिसा, आउने जाने हवाई टिकट, खर्च बेहोर्ने सर्तमा मात्र श्रम स्वीकृति प्रदान गरिन्छ।
तर यी देशमा जाँदा पनि कामदारले १ लाख देखि ३ लाख सम्म पैसा तिरेर जानुपर्ने बाध्यता छ। राम्रो कम्पनी, राम्रो काम भनेर म्यानपावर तथा एजेन्टले बढी रकम असुल्ने गरेको पाइएको छ। खाडी लगाएतका मुलुकमा नै ८० प्रतिशत भन्दाबढी नेपाली कामदार रोजगारका लागि जाने गरेका छन्। जापान जाने कामदारका लागि सरकारले ५० हजार रुपैयाँ लागत तोकेको छ।
वैदेशिक रोजगार विभागमा अमेरिका, क्यानडा, जापान, रसिया, पोल्याण्डलगायतका देशमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १२ लाखभन्दा बढी रकम असुल्दै आएको उजुरी पर्ने गरेको छ। सरकारले म्यानपावर कम्पनी मार्फत १ सय १० र व्यक्तिगत १ सय ७२ वटा देशका लागि श्रम स्वीकृति जारी गर्दै आएको छ। तर लागत खर्च सम्बन्धी सरकारले आबश्यक चासो नदिँदा र म्यानपावर र एजेन्टले गर्ने ठगीको अनुगमन गर्न नसक्दा कामदार ठगिने क्रम झनझन बढ्दै गइरहेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली कामदारहरु खाडीमा सस्तो मूल्यमा आफ्नो अमूल्य श्रम गर्न बाध्य रहेका कारण नेपाली कामदारलाई अब खाडी मुकको विकल्पमा कुन मुलुक पठाउने भन्ने बारे खोजी गरिरहेको बताउँदै आएका छन्।
































