सभामुख महराको भूमिकाप्रति कांग्रेस असन्तुष्ट

6.24K
shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सभामुख कृष्णबहादुर महराले सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन नचाहेको आरोप लगाएका छन्। नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसदद्वय दिलेन्द्रप्रसाद बडू र डा.डिला संग्रौलाले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रश्न गर्न नदिएबाट सभामुख महरा सरकारलाई संघीय संसदप्रति जवाफदेही बनाउन गम्भिर नरहेको पुष्टि भएको दावी गरेका छन्।

मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै काँग्रेस सांसद बडूले सरकारलाई संसदप्रति जवाफदेही बनाउन प्रधानमन्त्रीको वक्तव्यमाथि सांसदहरुले निर्वाध प्रश्न गर्न पाउने अधिकारलाई सभामुखले हनन् गरेको आरोप लगाए।

उनले संसदमा सरकारलाई जवाफदेही बनाउन र संसदीय मूल्य मान्यता अनुसार पनि सभामुखले प्रधानमन्त्री र मन्त्रीहरुसँग निर्वाध प्रश्न गर्न दिनुपर्ने पार्टीको अडान पनि दोहोर्याए। आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको वक्तव्यमाथि सभामुखले तत्काल प्रश्न गर्न दिएका थिएनन्। त्यसप्रति काँग्रेसले आपत्ति जनाउँदै आएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको वक्तव्यपछि प्रश्न गर्न नदिएपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ। काँग्रेसले भने प्रधानमन्त्रीसँग प्रश्न गर्न नदिएर सभामुख महराले संसदीय मूल्य, मान्यताको समेत अपहेलना गरेको आरोप लगाउँदै आएको छ।


divya collage
unigloble collage