सरकारले भूकम्पसम्बन्धि अन्तराष्ट्रिय स्तरको संग्राहलय स्थापना गर्ने

7.02K
shares

काठमाडौ । सरकारले भूकम्पसम्बन्धि अन्तराष्ट्रिय स्तरको संग्राहलय स्थापना गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहिवार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृति हुनेगरी अन्तराष्ट्रिय स्तरको भूकम्पसम्बन्धि संग्राहलय बनाउने तयारी गरिएको जानकारी गराएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संग्राहलय पुनर्निर्माणको चरणमा रहेको विश्व सम्पदा धरहरा परिसरमै स्थापना गर्न लागिएको पनि स्पष्ट पार्नु भयो । प्राधिकरणले गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्क स्थापनाको कामलाई अघि बढाएको पनि जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि सबै स्थानीय तहमा जोखिम विपद् नक्शांकन कार्य अघि बढाइएको पनि बताउनु भयो । उहाँले २ वर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता पनि दोहो¥याउनु भयो ।

त्यस अवसरमा प्राधिकरणले हालसम्म १ खर्ब ६८ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च गएको पनि समितिलाई जानकारी गराएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हालसम्म सम्झौता भएको रकम २ खर्ब ६२ अर्ब रहेकोमा पुनर्निर्माणमा १ खर्ब ६८ अर्ब खर्च भएको जानकारी गराउनुभयो ।