अधिवेशन नरोक्न नेविसंघलाई सभापति देउवाको निर्देशन

4.58K
shares

काठमाडौं । नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशनको वातावरण बनाइदिन मातृ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ।

पुस २८ देखि महाधिवेशन गर्ने कार्यतालिका जारी गरे पनि महाधिवेशन गर्न नसकेको नेविसंघले सभापति देउवालाई भेटेर कार्यसमितिको म्याद थप्दै महाधिवेशनको वातावरण मिलाइदिन आग्रह गरेको हो।

भंग हुन दुई दिन बाँकी हुँदा नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेसहित नेता आइतबार बिहान सभापति देउवा निवास पुगेका थिए। सभापति नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद माघ २ गते सकिँदैछ। दुई वर्ष कार्यकाल भदौमा सकिए पनि महाधिवेशन गराउन पार्टीले ५ महिना समय दिएको थियो।

संघीय संरचनामा गएको नेविसंघले अहिलेसम्म १६ जिल्ला अधिवेशन गरेको छ। सातै प्रदेश र अधिकांश क्याम्पसमा अधिवेशन हुन सकेको छैन। पछिल्लो पटक थपेको दुई महिनामा देशैभर अधिवेशनको वातावरण बनेको र यसबीचमा भएका प्रगतिबारे नेविसंघले सभापति देउवालाई भेटेर जानकारी गराएको हो।

‘सभापतिज्यूले अधिवेशन नरोक्नू, संगठन विस्तारमा लाग्नू भन्नुभएको छ,’ केन्द्रीय सदस्य सुशील भट्टले भने, ‘यो कार्यसमितिको म्याद थप गर्नेरनगर्ने माघ १० गते बस्ने केन्द्रीय समितिले निर्णय गर्छ।’

सभापति देउवाले यही कार्यसमितिले १२ औं महाधिवेशन गराउनुपर्ने बताए पनि एक्लैले म्याद थप गर्ने निर्णय लिन नसक्ने बताएका थिए। ‘पहिले साथीहरूसँग छलफल गर्छु अनि म्याद थप गर्ने वा नगर्नेबारे केन्द्रीय कार्यसमितिबाटै निर्णय हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै भट्टले भने, ‘जिल्ला अधिवेशनहरू रोक्न हुन्न।’

नेविसंघको विधानअनुसार कार्यकाल सकिएपछि महाधिवेशन गराउन तीन महिना थप गर्न मिल्छ। विशेष परिस्थिति भन्दै पार्टीले थप दुई महिना म्याद बढाए पनि नेविसंघले आफूले जारी गरेको कार्यतालिकाअनुसार महाअधिवेशन गर्न सकेन। सभापति महरले महाधिवेशन गर्न नसक्ने भन्दै शुक्रबार तीन उपाध्यक्ष, एक महामन्त्री र तीन सहमहामन्त्रीले पार्टी सभापति देउवासमक्ष राजीनामा बुझाएका थिए।

१ सय ६५ सदस्यीय नेविसंघमा उपाध्यक्ष पुष्पकुमार शाही, विकास केसी, सञ्जिव यादव, महामन्त्री सरोज थापा, सहमहामन्त्री अच्युत केसी, प्रेम जोशी, प्रकाश घिमिरेले राजीनामा दिएका थिए।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेविसंघका ४५ जनाले पनि राजिनामा बुझाएका छन्। आइतबार नेता पौडेललाई भेटेर उनीहरुले वर्तमान सभापति महरले महाधिवेशन गराउन नसक्ने भएकोले म्याद थप गर्न नहुने भन्दै राजिनामा बुझाएका हुन्। नेविसंघ विधानअनुसार राजीनामा बुझाउनुपर्ने अवस्था आए संगठनका सभापतिलाई बुझाउनुपर्ने उल्लेख भए पनि उनीहरूले विधानविपरीत पार्टी सभापति र बरिष्ठ नेतालाई राजीनामा थमाएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083