प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ : सल्लाहकार डा.भट्टराई

6.03K
shares

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले दाबी गरेका छन्। प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा.भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म हुने उक्त भ्रमण र स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले प्रधानमन्त्रीले यो फोरममार्फत नेपालको आफ्नो आर्थिक पोलिसीपनि सेयर गर्ने जनाए। उनले भने, ‘नेपालमा अहिले राजनीतिक स्थायित्व भएको छ। अब आर्थिक विकास र समृद्धिलाई बढावा दिईरहेका छौं भनेर उहाँले आफ्नो धारणा राख्नुहुनेछ। मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने उनको भनाइ छ। ‘मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सम्मेलनले थोरै भएपनि सहयोग पु¥याउनेछ,’उनले भने।

विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने भट्टराईले बताए। उनले भने, ‘नेपालमा लगानी तथा व्यापार गर्नको लागि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समूदायलाई आकर्षित गर्नुहुन्छ।’

प्रधानमन्त्रीले भ्रमणका बेलामा विभिन्न सभा तथा विभिन्न देशका सरकारप्रमुख, राष्ट्रप्रमुख र व्यवसायीहरुसँग भेटघाट हुने कार्यक्रम समेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञानसमेत हुने उनको भनाइ छ । उनका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा तीन वटा महत्वपूर्ण प्यानलमा प्रमुक्त वक्ताको रुपमा बोल्ने कार्यक्रम तय भएको छ। उनले भने, ‘हाम्रो प्रधानमन्त्रीले स्टा«टेजी आउटलुक अन साउथ एशियामा पनि बोल्नुहुन्छ। अर्को, सेपिङ द फ्युचर अफ डेमोक्रेसी भन्ने प्यानलमा पनि भाग लिनुहुनेछ।

त्यस्तै, उहाँले जि–२० का केही हेड अफ द स्टेट र प्रभावशाली नेताहरु सम्मिलित हुने प्यानलमा पनि वक्ताको रुपमा सहभागी जनाउनुहुनेछ। त्यस बाहेक प्रधानमन्त्रीले भियतनामका प्रधानमन्त्री र इजरायलका प्रधानमन्त्रीसँगपनि साईडलाईन भेटवार्ता गर्ने कार्यक्रम रहेको भट्टराईले सुनाए। उनले प्रधानमन्त्रीको भ्रमण समग्र रुपमा फाइदाजनक हुने विश्वास दिलाए । उनले भने,‘ज्ञान, प्रविधि र पुँजी भित्र्याउनको लागि यो भ्रमण फलदायी हुनेछ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा.गोविन्दराज पोखरेलले प्रधानमन्त्री ओली उक्त सम्मेलनमा भाग लिन जानु खुशीको कुरा भएको बताए। उनले भने, ‘उहाँको पार्टीले जे जस्तो नीति लिएपनि, उहाँ घोर पुँजीवादीहरु आउने फोरममा सहभागी हुन जाँदै हुनुहुन्छ, यो राम्रो कुरा हो। मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास दिलाए ।

माक्र्सवादी र लेनीनवादी मार्गदर्शन बोकेको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुँजीवादको सम्मेलनमा जानु खुशीको कुरा भएको बताउँदै उनले मुलुकको पुँजीवादको विकासमा सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे। नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओली यसरी सम्मेलनमा भाग लिन जानु नेपालको लागि अवसरको विषय भएको बताए। उनले डाबस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने सुझाव दिए ।

शर्माले भने, ‘यो नेपाललाई चिनाउने अर्को ठूलो अवसर हो । प्रधानमन्त्री यो फोरममा गएर बोल्दा नेपालमा धेरै लगानीकर्ता आकर्षण गर्न सक्नुपर्छ । सम्मेलन राजनीतिक कुरा गर्ने थलो नभएर आर्थिक छलफल गर्ने थलो भएकाले जतिसक्दो धेरै लगानी मुलुकमा भित्र्याउने बाटोमा लाग्नुपर्ने उल्लेख पनि शर्माले धारणा राखे ।

लगानी भित्र्याउनका लागि चाहिने आवश्यक ऐन कानुनलाई परिमार्जन गर्नुपर्ने उनको भनाई थियो । शर्माले नेपालमा लगानीयोग्य वातावरण बनाउँछौं भनेर विश्वस्त तुलाउनुपर्ने धारणा राखे । अन्तर्राष्ट्रिय रुपमा नेपालको छबि घट्दै गएको सुनाउँदै उनले प्रधानमन्त्रीको यो भ्रमणले करेक्शन गर्ने अवसर भएको पनि प्रतिक्रिया दिए । उनले भने,‘समय र अवसरको पूर्ण सदुपयोग हुनुपर्दछ ।’

स्वीट्जरल्याण्डका लागि पूर्व नेपाली राजदूत डा.शम्भुराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भएपनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनुपर्ने धारणा राखे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083