‘बाँदरलाई मकैबारीको गोठालो बनाउनु र अहिलेको दुई तिहाईको सरकार त्यस्तै’ : खगेन्द्र संग्रौला

8.63K
shares

पहिलोपोस्ट बाट साभार गरिएको

काठमाडौँ । ठूलो आशा र अपेक्षा सहित नयाँ संविधान बनि सके पछिको पहिलो चुनावमा दुई तिहाईको सरकारको बन्यो। तर एक वर्ष नपुग्दै सर्वसाधारण निराश हुन थालेका छन्। सरकारप्रति सकारात्मक भन्दा नकारात्मक धारणा बलियो बन्दैछ।

किन भयो यस्तो? सरकारलाई खबरदारी गर्नु पर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका कदमप्रति पनि सर्वसाधारण सकारात्मक देखिएका छैनन्। के तेस्रो विकल्पको उदय हुँदै गरेको अवस्था हो? आदी विषयमा राजनीतिक विश्लेषक खगेन्द्र सँग्रौलासित गरेको कुराकानीको सम्पादित अंश :

  • अहिलेको दुई तिहाईको जुन सरकार छ, यो आफ्ना कार्यावधिमा सम्भवत : नेपालको समग्र इतिहासमा कुनै पनि सरकारले गरेको भ्रष्टाचारमध्ये सबै भन्दा बढी भ्रष्टाचारी हुनसक्छ। सबै भन्दा बढी असुरक्षा यही सरकारको पालामा हुन्छ। सबभन्दा बढी हिंसा सम्भवत : यही सरकारको पालामा हुन्छ।
  • उपेन्द्रले राम्रो गरे। समर्थन नै दिनु थियो भने त खाएरै समर्थन गर्ने हो। महन्थ ठाकुरले भूल गरे, समर्थन गरे तर सत्तामा गएन। अहिले रोइरहेका छन्।
  • बाबुरामजीलाई एउटा नयाँ सिद्धान्त बनाउनुछ। मार्क्सवाद र गान्धीवादलाई धोईपखाली जोडि रहनु भएको छ। नयाँ सिद्धान्त त्यसरी बन्दैन। इतिहासमा नयाँ सिद्धान्तको जसरी प्रतिपादन भएको छ, धेरै लामो ऐतिहासिक कालमा निर्मम संघर्षपछि कुनै सिद्धान्त स्थापित भएको छ। मार्स्पवाद वा गान्धीवाद भन्नुस् अथवा अन्य दर्शनहरु नै भन्नुस्। तपाइँले केही लेखहरु लेखेर, केही अन्तर्वार्ताहरु दिएर, ट्वीट गरेर, आत्मविज्ञापन गरेर नयाँ सिद्धान्त बन्दैन।
  • रवीन्द्र मिश्रजीको केही आदर्शका कुराहरु छन्। केही आदर्शका भावुक कुरा गरेर राजनीति हुँदैन। त्यसरी तपाइँलाई व्यक्तिगत रुपमा ठूलो तुष्टि होला, तपाइँको फोटो छापिएला, कहीं तपाइँको सिग्नेचर लिने मान्छे पनि होलान् तर राजनीति त निर्मम कुरा हो।
  • विकल्पको निर्माणलाई जति सजिलो ठानिएको छ, त्यसरी विकल्प बन्थ्यो भने त म नै पार्टी बनाउँथे। म नै प्रधानमन्त्री बन्थें। त्यसरी बन्दैन। यो त्यति सजिलो कुरा होइन। एउटा लेख लेख्नु जति सजिलो छ, प्रवचन दिनु जति सजिलो छ, ट्वीट ठेल्नु जति सजिलो छ, पार्टीको निर्माण गर्न, राजनीतिमा हस्तक्षेप गर्न, बहुमतको निर्माण गर्न, सत्तासीन हुन र जगतलाई फेर्न सजिलो छैन।
  • मोदीको पतनबाट खड्गप्रसाद ओलीले सिक्नुपर्छ। त्योभन्दा बढी खड्गप्रसाद ओलीले आफ्नै ह्रासबाट सिके पर्याप्त छ। हिजो त्यो अवस्था थियो जब त्यत्रो दुई तिहाईको भीडमा त्यतिका पढेलेखेका बुद्धिजीबी प्रा.डा. भएका ठाउँमा घनश्याम भुसाल बाहेक चुइँक्क बोल्ने एउटा पनि थिएनन्। अहिले धेरैले बोल्न थाले। यसरी बोल्न थाले कि खड्गप्रसादको घोर अपमान हुने गरी औपचारिक बैठकमा बोल्न थाले।

देशमा दुई तिहाईको सरकार आयो तर त्यसप्रतिको अपेक्षा खस्किँदै जाँदा कस्तो प्रभाव परेको देख्नुहुन्छ ?

संविधान निर्माणको पृष्ठभूमिमा टीकापुर घटना, मधेश आन्दोलन, नाका अवरोध, हिंसा लगायतका सन्दर्भमा संविधान बन्यो। संविधान बन्ने क्रममा राष्ट्रवादको नारा लगाइएको थियो। राष्ट्रवादले कसैलाई नायक बनायो। नायक कसरी बनाइएको थियो भने भुईँफुटा जगमा नायक बनाइएको थियो। त्यो नायकको लोकप्रियता पनि भुईँफुटै थियो। जे भुईँफुटा हो उसको आयु छोटो हुन्छ। अर्को कुरा दुई तिहाई आवश्यक थियो, तर यसको पृष्ठभूमिमा चुनावमा जे नारा दिइएको थियो त्यो पनि मलाई अनुचित लाग्यो। सरकार स्थिर भएर भ्रष्टाचार किन ग¥यो, विकासले गति किन लिएन? त्यसैले भ्रष्टाचार घटाउन र विकासको गति बढाउन हामीले दुई तिहाई दियौं।

मागेको पनि थियो त्यो, दिएको पनि ठिकै थियो। दुर्भाग्यवश वा विडम्बनावश आँधि बेहरीबाट आएका परिवर्तनका मुद्दालाई संस्थागत गर्ने को भयो, जो गणतन्त्र विरोधी थियो, जो संघीय विरोधी थियो, जो समावेशिता विरोधी थियो, जो आरक्षण विरोधी थियो, जो धर्म निरपेक्षता विरोधी थियो त्यो आफूलाई मन नपर्ने एजेन्डा संस्थागत गर्ने नायक बने। तपाइँले बाँदरलाई मकैबारीको गोठालो बनाए पछि के हुन्छ? यस्तै हुन्छ। यस्तो भए पछि जनता खिन्न हुन्छन्।

 त्यसो भए राजनीतिले अन्तै मोड लेला कि ?

व्यक्ति छोटो समयमा शीघ्र परिणाम चाहँदो रहेछ। किनकि व्यक्तिको आयु छोटो हुन्छ। अहिले धेरै मान्छेहरु सोध्छन् कि यत्रो आँधीबेहरीबाट अएको यो भव्य विकल्प पनि व्यर्थ भएपछि सकियो त दुनियाँ। कहिले पनि दुनियाँ सकिँदैन। म त सकिन्छु तर दुनियाँ बाँकी रहन्छ।

नाटकीय ढंगले भोलिलाई विकल्पको सम्भावना म देख्दिँन। बरु म के देख्छु भने अहिलेको दुई तिहाईको जुन सरकार छ, यो आफ्ना कार्यावधिमा सम्भवत : नेपालको समग्र इतिहासमा कुनै पनि सरकारले गरेको भ्रष्टाचारमध्ये सबै भन्दा बढी भ्रष्टाचारी हुनसक्छ। सबै भन्दा बढी असुरक्षा यही सरकारको पालामा हुन्छ। सबभन्दा बढी हिंसा सम्भवत : यही सरकारको पालामा हुन्छ।

देखिएको क्षितिजभित्र यो दुई तिहाईको पाँच वर्षसम्म विकल्प छैन। किनभने कांग्रेस भन्ने प्रतिपक्ष पार्टी वैचारिक आधार सिद्धान्त, नैतिकवान छैन। त्यहाँ केही गुटहरु छन्। केही कलहहरु छन्। स्थापित मूल्य र संस्थाहरु बेकार भएका छन्। यिनले नेपाली समाजलाई प्रगतिको बाटोमा नलाने भए। नयाँ वैचारिक आदर्शको निर्माण गर्ने, नयाँ कार्यशैलीको निर्माण गर्ने केही नदेखिएका होइनन्। देखिनु राम्रो थियो तर तिनका अहिलेसम्मका क्रियाकलाप हेर्दा ती पनि एक किसिमको स्वर्गद्वारा सुकुलगुण्डा देखिएका छन्।

सुकुलगुण्डा आफै प्रिय शब्द होइन तर तिनका गतिविधि, चरित्र, तिनले निर्माण गरेको अहिलेसम्मको वृत्त हेर्दा शहरबजारका गफाडी सुकुलगुण्डा जस्तो देखिएका छन्। ती विकल्प होइन। त्यसैले दुर्भाग्यवश इतिहासको परीक्षामा विफल भएका अहिलेका जुन चाररपाँच जना छन् खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा अर्को पाँचरसात वर्ष यिनैले खान्छन्। यिनीहरुलाई झेल्नुपर्छ हामीले।

 साँच्चिकै त्यो स्तरमा गइसकेको हो र ?

कुनै एउटा शक्तिले अथवा संयोगले अथवा दुर्भाग्यले आम जनमानसमा ठूलो आशाको विम्ब रचना गरेपछि कालान्तरमा त्यसको न्यूनतम पनि जब कार्यान्वयन हुँदैन, संसार अँध्यारो देखिदो रहेछ। अहिले दुई तिहाईको उन्मादले जुन एउटा विराट उज्यालो देखिएको थियो नि त्यो दुई तिहाईकै वैचारिक स्खलनले यथार्थ अँध्यारो देखिएको छ।

 पहिलेकै भूमिकामा आउनसक्ने कांग्रेसको सम्भावना छ ?

नेपालको राजनीति अहिलेसम्म नकारात्मक तत्वलाई सकारात्मक तत्वले जितेको इतिहास कमै छ। जनताले कसलाई बोकेर सत्तामा पु¥याउँछ, त्यस प्रति उनका आशाहरु हुन्छन्। छोटै समय सत्तामा बसे पछि त्यसले भ्रष्टाचार गर्छ र त्यो बदनाम हुन्छ। सडक हुँदासम्म भ्रष्टाचार गरेको हुँदैन। त्यसको निधारमा बदनामीको कलंक त हुँदैन। यो भ्रष्ट काम लागेन भने त्यसलाई सडकमा ल्याउँछ जनताले, तलकोलाई माथि लिएर जान्छ।

अहिले भनौं न कांग्रेसको ठाउँमा एमाले आयो, एमालेको ठाउँमा फेरि कांग्रेस आयो, एमाले–कांग्रेसको ठाउँमा माओवादी आयो। जनताले नकारात्मक विकल्पको सट्टामा सकारात्मक रोजि रहेको देखि रहेको छ। सत्तामा जो छ त्यो गन्हाउँछ, हिजो गन्हाएको सडकमा कम गन्हाउँछ अनि फेरि सडकको कम गन्हाएकोलाई उचाल्दै बढी गन्हाएकोलाई सडकमा खसाल्दै आएको छ।

ज्ञानेन्द्रको कुरा बोकेर कमल थापा, डा. बाबुराम भट्टराई, रवीन्द्र मिश्र र दुईटा मधेशवादी दल यिनीहरुको सम्भावना कतिको छ ?

केही पनि भन्न सकिँदैन अहिलेसम्म। जस्तो मधेशका दलहरुमा के देखियो भने उपेन्द्रको फोरम जनतामा छैन, सत्तामा छ। महन्थ ठाकुरको राजपा न सत्तामा छ न जनतामा। तिनले अहिलेको स्थितिमा आम मधेशी जनताको मनोभावमा तिनका असन्तुष्टि, तिनका आकांक्षाको प्रतिनिधित्व गरिरहेको जस्तो लाग्दैन। उपेन्द्रले राम्रो गरे। समर्थन नै दिनु थियो भने त खाएरै समर्थन गर्ने हो। महन्थ ठाकुरले भूल गरे, समर्थन गरे तर सत्तामा गएन। अहिले रोइरहेका छन्।

बाबुरामजी नयाँ सिद्धान्तको खोजीमा हुनुहुन्छ। बाबुरामजीलाई एउटा नयाँ सिद्धान्त बनाउनुछ। मेरा असल मित्र हुन्, उनी ज्ञानी मान्छे हुन्। म अझै पनि आदर गर्छु। उनलाई नयाँ सिद्धान्तकार बन्नुछ। मार्स्नवाद र गान्धीवादलाई धोईपखाली जोडिरहनुभएको छ। नयाँ सिद्धान्त त्यसरी बन्दैन। इतिहासमा नयाँ सिद्धान्तको जसरी प्रतिपादन भएको छ, धेरै लामो ऐतिहासिक कालमा निर्मम संघर्षपछि कुनै सिद्धान्त स्थापित भएको छ। मार्स्रवाद वा गान्धीवाद भन्नुस् अथवा अन्य दर्शनहरु नै भन्नुस्। तपाइँले केही लेखहरु लेखेर, केही अन्तर्वार्ताहरु दिएर, ट्वीट गरेर, आत्मविज्ञापन गरेर नयाँ सिद्धान्त बन्दैन।

रवीन्द्र मिश्रजीको केही आदर्शका कुराहरु छन्। केही आदर्शका भावुक कुरा गरेर राजनीति हुँदैन। म भ्रष्टाचार गर्दिन, पाप गर्दिन, लोभ गर्दिन, सादापन प्रदर्शन गर्छु त्यतिले मात्रै राजनीति गरिँदैन। जीवन जगत सम्बन्धी उहाँको दार्शनिक दृष्टिकोण के हो ? उहाँको आर्थिक दृष्टिकोण के हो ? अहिलेको अत्यन्त क्रूर नव उदारवाद र समाजका विषयमा बजारको स्वार्थ र जनताको स्वार्थको बीचमा उहाँको आर्थिक चिन्तन नीति के हो ? उहाँको संगठन र उहाँले परिकल्पना गरेको राज्यको संरचना के हो ? त्यसको कार्यशैली के हो ? नोकरशाही कस्तो हुने ? त्यसै केही भावुक कुरा गरेर राजनीति गरिँदैन। त्यसरी तपाइँलाई व्यक्तिगत रुपमा ठूलो तुष्टि होला, तपाइँको फोटो छापिएला, कहीं तपाइँको सिग्नेचर लिने मान्छे पनि होलान् तर राजनीति त निर्मम कुरा हो।

मैले उपहास गर्नका निम्ति यो कुरा भनिरहेको छैन। विकल्प निश्चितरुपमा आएको छ। त्यो विकल्प सडेगलेका पार्टीहरुबाटै बन्ने सम्भावना देख्दिनँ। भित्र बाहिरका असल तत्वहरुको संयोजनबाट संघर्षको लामो प्रक्रियाबाट विकल्प बन्नु आवश्यक छ। तर, विकल्पको निर्माणलाई जति सजिलो ठानिएको छ, त्यसरी विकल्प बन्थ्यो भने त म नै पार्टी बनाउँथे। म नै प्रधानमन्त्री बन्थें। त्यसरी बन्दैन। यो त्यति सजिलो कुरा होइन। एउटा लेख लेख्नु जति सजिलो छ, प्रवचन दिनु जति सजिलो छ, ट्वीट ठेल्नु जति सजिलो छ, पार्टीको निर्माण गर्न, राजनीतिमा हस्तक्षेप गर्न, बहुमतको निर्माण गर्न, सत्तासीन हुन र जगतलाई फेर्न सजिलो छैन।

 कमल थापा एण्ड कम्पनीको बारेमा के छ धारणा ?

ज्ञानेन्द्र व्यापारी हो। ज्ञानेन्द्रलाई म त भाइ भन्छु। उमेरले पनि मेरो भाइ पर्छन्। उनको दुर्भाग्य के हो भने बाल्यकालमा दाजु भन्दा पहिला उनी राजा भए। दाजुभन्दा पहिला राजा भए पछि अनावश्यक रुपमा उनको कोमल चित्तमा आकांक्षा थोपरियो। पछि सायद उनलाई के लागिरह्यो भने दाजु भन्दा पहिला राजा भएको त म हुँ, हक मेरो हुनु पर्ने हो। कसैको प्रयत्न वा दुर्घटना वा षड्यन्त्रले दरबार हत्याकाण्ड भयो। सिंहासन खाली भो। राजाको रुपमा ज्ञानेन्द्रलाई सत्तासीन गरियो।

उनले पुरानो महेन्द्रकालीन आदिम प्रकृतिको चिन्तन, त्यो बेलाको प्रवृत्ति, चाकरहरु बटुलेर सत्ता चलाउन खोजे। जुन भएन। जुन वैचारिक संरचनामा महेन्द्र आफै विफल भएका थिए, उनी विफल हुनु नै थियो। म नास्तिक, भौतिकवादी, भूतप्रेत, मसानवादसँग विश्वास गर्दिन। तर, यो लोकको अगाडि त विश्वास छँदैछ। कमल थापा र ज्ञानेन्द्र भनेको मसानघाटका समाजलाई तर्साउने प्रेतहरु हुन्। यी दुःखी प्रेतहरु हुन्।

 कम्युनिष्ट वा समाजवाद मौलाउँदै जाने सम्भावना आउला ?

सोभियत संघको विघटन पछि पुँजीवादका सेवकहरुले एउटा चिन्तन ल्याए। विचारधाराको अन्त्य भो। पुँजीवादको शास्वत विजय भयो। त्यो एउटा उन्माद थियो। सोभियत संघको विघटन वा पतनमा मार्स्जवाद र समाजवाद मरेको थिएन। मार्स्टवाद र समाजवादका नाउँमा जुन विकृतिको डँगुर बनाइएको थियो त्यो मरेको थियो। त्यस पछि अक्युपाइस्टेट आयो। त्यसले के देखायो भने पुँजीवादका विराट संकटहरु कायमै छ। त्यसले मानव सभ्यतामा असमानता, विभेद, अपमान, बहिष्करण छउन्जेलसम्म मान्छेले न्याय खोजिरहन्छ। समानता खोजि रहन्छ। त्यो न्याय र समानताको खोजीमा जानु भनेको समाजवादतिर जाने यात्रा नै हो।

साम्यवाद कति टाढा छ त्यो म जान्दिँन। जब तन्नेरी थिएँ, साम्यवाद नजिकै आएको थियो। जगतको जटिलता बुझ्दै गएपछि साम्यवाद भन्ने चीज एउटा यस्तो आदर्श हो जसले अकर पहराको त्यो सुनाखरी फूलजस्तो लाग्छ। साम्यवाद आदर्श हो, समाजवाद हाम्रो नाक अगाडिको लक्ष्य हो। पूँजीवादको विराट संकटका बीचमा मानव जातिले गर्ने समानताका प्रयत्नहरुले मानव जातिलाई समाजवाद तिरै लाने हो। अहिलेको दुई तिहाईले पनि समाजवादमा लाने भनेको छ। विडम्बना के छ भने दुई तिहाई बिचौलिया, ठग, ठेकेदार, चैते चोरहरुको कब्जामा छ। त्यसले समाजवादतिर लैजान्छु भन्छ।

खड्गप्रसाद ओलीको ठाउँमा म भएको भए डा. केसीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा आम मान्छेको पहुँच नारा दिने ती मान्छेले अनसन बसेको बेलामा शालिक बनाउँथे। म तिनलाई के भन्थे, मेरो पार्टीभित्रका स्वार्थीहरुले, मेरो सरकार भित्रका स्वार्थीहरुले मलाई समाजवाद तिर जान बाटो छेकिरहेका छन्। तिमीले कमसेकम एउटा मुद्दा दियौं, स्वास्थ्य र शिक्षामा। तर, के गरे भने अपराधीलाई जस्तो निन्दा गरियो, अपराधीलाई जस्तो पक्राउ गरियो। त्यसैले दुई तिहाई भनेको समाजवादको नाउँमा कलंक हो। तर, समाजवादको आदर्श मर्ने हो भने मानव जातिका लागि केही पनि बाँकी रहँदैन। समस्त मानव जातिले आत्महत्या गरे हुन्छ।

पछिल्लो चरणमा जसरी छिमेकी मुलुकमा कट्टरपन्थीहरु आए अब विस्तारै जाँदैछन्, त्यस्तै हाम्रो देशमा पनि हुने देख्नुहुन्छ कि?

त्यो बुझ्नु पर्ने हो। एक समय थियो, जब के लाग्थ्यो भने जब अमेरिकामा ट्रम्पले सारा कुरा बर्बाद गर्ने भए, बाहिरबाट आउने सबलाई लखेट्ने भए, अश्वेतहरुलाई दमन गर्ने भए, महिलाका अधिकारहरु खोस्ने भए, मेक्सिकोको वारीपट्टी पर्खाल लगाउने भए जस्ता ठूलो भय थियो। सकेनन्। किनभने त्यहाँ जुन लोकतान्त्रिक संरचनाहरु छन्, ती संरचनाले जुन मूल्य प्रणाली बनाएका छन् पुँजीवादी। त्यसले उनलाई रोक्यो।

भारतमा त्यो मूल्य प्रणाली कमजोर भएकोले मोदीको उन्माद ट्रम्पको भन्दा अलि बढी भयो। मोदीले देखिने गरी मान्छेहरु मारे, मुस्लिम मारिए, दलित मारिए, कम्युनिष्ट भनिनेहरु मारिए। तर, विस्तारै भुँइफुट्टा प्रक्रियाबाट निर्माण भएको पहिचान, लोकप्रियता लामो समयसम्म टिक्दैन। मोदीले देखाए।

मोदीको पतनबाट खड्गप्रसाद ओलीले सिक्नुपर्छ। त्यो भन्दा बढी खड्गप्रसाद ओलीले आफ्नै ह्रासबाट सिके पर्याप्त छ। हिजो त्यो अवस्था थियो जब त्यत्रो दुई तिहाईको भीडमा त्यतिका पढेलेखेका बुद्धिजीबी प्रा.डा. भएका ठाउँमा घनश्याम भुसाल बाहेक चुइँक्क बोल्ने एउटा पनि थिएनन्। अहिले धेरैले बोल्न थाले। यसरी बोल्न थाले कि खड्गप्रसादको घोर अपमान हुने गरी औपचारिक बैठकमा बोल्न थाले। ओलीजी भनिरहनुभएछ, मेरो सरकारले असाधारण सफलता प्राप्त गरि रहेको छ। पार्टी भित्र निन्दा छ, बाहिर वाहवाही छ।

सामान्य नागरिकको प्रश्न के हो भने वाहवाही कहाँ छ? बजार भाउमा छ ? नागरिकको सुरक्षामा छ ? महिलाहरुको सुरक्षामा छ? रोजगारीको वृद्धिमा छ? राष्ट्रिय प्रतिष्ठाको वृद्धिमा छ?

त्यसैले राष्ट्रवादले मान्छेलाई भुइँफुट्टा बनाउँछ। जो भुइँफुट्टा हो उसको खुट्टा भुइँमा हुँदैन, आकाशमा हुन्छ। खड्गप्रसाद आकाशमा छन्। आम मान्छेका दुःख धरातलमा थिए। उनले रेल, तेल, पानी जहाज भने। सुन्दा खेरि बडो प्रिय लाग्ने। तर त्यसको यथार्थ धरातलमा नटेकेको हुनाले ती सबै कुरा विम्ब जस्तो फुटे। त्यसैले खड्गप्रसाद ओली आदि उन्मादी राष्ट्रवादीहरुले अन्तबाट सिक्नु पर्दैन। आफैबाट सिके पर्याप्त हुन्छ। आफ्नै दुर्गति अवस्थाबाट सिके पर्याप्त हुन्छ।

(यो खगेन्द्र संग्रौलाको अन्तर्वार्ताको समाचार पहिलोपोस्ट बाट साभार गरिएको हो । पहिलोपोष्ट बाट साभार गरिएको समाचारले पर्न गएको असरप्रती हामी क्षमाप्राथी छौ ।)

तल हेर्नुहोस् पहिलोपोष्टको लिंक

www.pahilopost.com

बाँदरलाई मकैबारीको गोठालो बनाएपछि के हुन्छ? दुई तिहाईको सरकार त्यस्तै : खगेन्द्र संग्रौला


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083