संसद्मा आज फेरि प्रश्नोत्तर, मन्त्रीहरुले जवाफ दिने
वि.सं.२०७५ माघ २३ बुधवार ११:०४
shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठकमा सांसद्हरुले उठाएका जिज्ञासाको सरकारका मन्त्रीहरुले जवाफ दिने तयारी छ । प्रतिनिधिसभा नियमावलीमै मन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरिएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न सक्नेछन् ।
कांग्रेसका तीन र नेकपाका एक सांसदले संसद् सचिवालयमा प्रश्न दर्ता गराएका छन् । निर्मला पन्त प्रकरण, भक्तपुरमा एघार वर्षीय बालक निशान खडकाको अपहरणपछि हत्या गर्ने दुई जनाको प्रहरीले गरेको ‘इन्काउन्टर’, अछामका नमराज विष्टको हत्यारा पत्ता नलाग्नुको विषयमा सांसद्ले जिज्ञासा राख्नेछन् । यस्तै मोरङको लेटाङमा पानीमा विषादी मिसाउनेलाई कारबाही कहाँ पुग्यो भनी प्रश्न दर्ता भएको छ ।
सचिवालयका अनुसार ४ मन्त्रीलाई सोधिने प्रश्न सांसदले यसअघि नै दर्ता गराइसकेका छन् । हिंसापीडित महिला आवासगृह सातै प्रदेशमा बनाउने प्रक्रिया, बढी सामान बेच्नेलाई विदेश घुमाउने बहुराष्ट्रिय कम्पनीको प्याकेजले नेपाली मुद्रा बाहिरिए, कास्कीमा प्राणी उड्डयन बनाउने काम कहाँ पुग्यो जस्ता प्रश्न सांसदले राखेको सचिवालयले जनाएको छ ।
नियमावलीमा सम्बद्ध विषयका पूरक प्रश्न पनि सोध्न पाउने व्यवस्था छ । सांसदले ८८ मौखिक प्रश्न दर्ता गरेका छन् । तीमध्ये ४३ को जवाफ मन्त्रालयले सचिवालयमा पठाइसकेका छन् ।




























