सांसदको प्रश्नमा मन्त्रीको जवाफ : सुकम्बासीको समस्या समाधान गर्न आयोग गठन भइसक्यो
वि.सं.२०७५ माघ २५ शुक्रवार १३:४९
shares

काठमाडौँ । सरकारले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्न लागिएको जानकारी दिएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको ‘प्रश्नोत्तर’ कार्यक्रममा भाग लिँदै उनले सो समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न सरकारले ‘भूमिसम्बन्धि ऐन, २०२१’ को आठौं संशोधन प्रक्रिया अघि बढाईसकेको पनि स्पष्ट पारे। चालू संसद अधिवेशन भित्र सो संशोधित ऐन पारित हुनासाथ ‘बसोबास आयोग’ गठन गरी सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधान गर्ने मन्त्री अर्यालको योजना छ।
मन्त्री अर्यालले सुकुम्बासी र अव्यस्थित बसोबास गर्नेहरुलाई व्यवस्थित बनाउन सरकार कानुनी र व्यवहारिक दुवै पाटोबाट संवेदनशील भएर लागि परेको दावी पनि गरिन्। बैठकमा सांसद खगराज खधिकारीले भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधान गर्ने सरकारको योजना के छ ? भनि प्रश्न गरेका थिए।
त्यसैगरी सांसद गगनकुमार थापाले संविधानले भूमिहिन सुकुम्बासीहरुको समस्या समस्या समाधान गर्ने अधिकार प्रदेश र स्थानीय सरकारलाई पनि दिएको उल्लेख गर्दै सो सम्बन्धमा कस्तो समन्वय गरिरहनु भएको छ ? भन्ने जिज्ञासा राखेका थिए। जवाफमा मन्त्री अर्यालले संविधानले सुनिश्चित गरेको बाटोबाटै सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधान गर्न सरकार सचेत रहेको बताइन्। प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर ती समस्या समाधान गर्ने मन्त्री अर्यालको प्रतिवद्धता थियो।
मन्त्री अर्यालले सुकम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको तथ्यांक संकलनको काम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सुरु गरिएको पनि स्पष्ट पारे। सांसद शान्ता चौंधरीले बास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि सरकारले उनीहरुको तथ्यांक संकलनको कामलाई कहाँ पुर्याएको छ ? भनि मन्त्री आर्याललाई प्रश्न गरेका थिए।
मन्त्री अर्यालले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या फरक–फरक प्रकृतिको भएको उल्लेख गर्दै त्यसको समाधान पनि सोही अनुसार गर्दै लैजाने गरी सरकारले आफ्नो कामलाई अघि बढाएको पनि बताइन्। मन्त्री अर्याललाई सांसदहरु भरतकुमार शाह, संजयकुमार गौतम, महेश्वर जंग गहतराज ‘अथक’ले पनि सो सम्बन्धमा पुरक प्रश्न गरेका थिए।






























