प्रधानमन्त्री पदका लागि थाइल्यान्डकी राजकुमारी चुनावी मैदानमा

4.68K
shares

एजेन्सी । थाइल्यान्डका राजा महा बजरालोङ्कोनकी दिदी राजकुमारी उबोलरत्न महिडोल राजकन्याले आगामी मार्चमा हुने निर्वाचनमा प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।

६७ वर्षेीया राजकन्याको यो निर्णयलाई थाइल्यान्डको राजतन्त्रात्मक इतिहासमा अप्रत्याशित घटनाका रुपमा लिइएको छ। साधारणतय थाइल्यान्डको राजपरिवार राजनीतिबाट टाढा रहँदै आएको छ। उनले विवादास्पद थाइ रक्स चार्ट पार्टीबाट प्रधानमन्त्रीका लागि लड्ने जनाइएको छ। उक्त पार्टी सिनावात्रा परिवारसँग नजिक रहेको बताइएको छ।

उक्त पार्टीको नेतृत्व गरी प्रधानमन्त्री बनेका यिङलक सिनावात्रा र थाक्सिन सिनावात्रा हाल भ्रष्टाचार आरोपमा स्वस्निर्वासनमा छन्। तथापि दुवै जना अहिले पनि थाइल्यान्डको राजनीतिमा शक्तिशाली रहेको मानिन्छ।

राजकन्याले १९७२ मा अमेरिकी नागरिकसँग विवाह गरेकी थिइन्। यसकारण उनले आफ्नो शाही पद त्याग गरेकी थिइन्। यद्यपि सम्बन्ध विच्छेद भएपछि उनी फेरि थाइल्यान्ड फर्केर राजकीय जिम्मेवारीमा छिन्।

सामाजिक संजालमा सक्रिय रहेकी राजकन्याले केही थाइ चलचित्रमा अभिनयसमेत गरेकी छिन्। उनको तीन सन्तानमध्ये एक जनाको सुनामीको कारण २००४ मा मृत्यु भएको थियो भने दुई जना अमेरिकामा बस्दै आएका छन्।

वर्तमान प्रधानमन्त्री प्रयुथ हान ओचहाले गत शुक्रवार प्रधानमन्त्री पदका लागि पुन: उम्मेदवारी दिने घोषणा गरेका थिए। २०१४ मा सैन्य कू गरेर सत्तामा पुगेका प्रयुथ सेना समर्थित पलाङ प्रचारत पार्टीबाट निर्वाचन लड्ने बताइएको छ।

तर, थाइल्यान्डमा राजपरिवारविरुद्ध जाने संस्कार नभएकाले राज संस्थाबाट प्रतिनिधित्व गरेकी राजकन्याविरुद्ध अरुले उम्मेदवारी दिने सम्भावना कमै रहेको बताइएको छ।

कू पछि पहिलो पटक हुने लागेको निर्वाचनबाट पुनस् सत्तामा कब्जा गर्ने सैन्य रणनीतिमा राजकुमारीको उम्मेदवारीले धक्का पुगेको बताइएको छ। २०१६ मा बनेको नयाँ संविधानमा सैनिकलाई बढी शक्तिशाली बनाउँदै थाक्सिनको पार्टीबाट निर्वाचनमा उम्मेदवारी दिनेहरुलाई रोक्ने प्रयास भएको थियो।

राजकन्याले त्यही पार्टीबाटै उम्मेदवारी दिने भएपछि थाइल्यान्डको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। १९३२ मा सक्रिय राजतन्त्र अन्त्य भइ नयाँ संविधान बनेयता थाइल्यान्डको सेनाले १२ पटक कू गरेर राजनीतिलाई आफू अनुकूल बनाउँदै आएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083