आगलागीबाट दुई घर जलेर नष्ट : एक बालकको मृत्यु

4.77K
shares

म्याङलुङ । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आइतबार दिउँसो घरमा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ। स्थानीयवासी रुद्र खातीको घरमा आगलागी हुँदा खातीको ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको हो।

आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले बताउनुभयो। घटनास्थलमा इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुई जनाको मृत्यु

यता सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा आइतबार नै ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ ख १६५१ नं.को ट्रक दुर्घटना हुँदा ट्रकमा सवार बारा निजगढ नगरपालिका–८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामाको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

मैदा लोड भएको ट्रक अनियन्त्रित भई रूखमा ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो। ट्रक चालक बाराको निजगढ नगरपालिका–८ बस्ने २१ वर्षीय शौरभ लामा घाइते भएका छन्। उनको कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083