प्रदेश-२ मा राजपाका मन्त्री फेर्न केन्द्रलाई दबाब,को-को परे ‘डेन्जर जोन’मा?

5.41K
shares

जनकपुर। राजपा नेपालका प्रदेश सांसद तथा राज्यमन्त्री हरुले प्रदेश नम्बर २ का केही मन्त्रीहरु तत्काल फेर्न सो पार्टीकोे केन्द्रीय नेतृत्वलाई दबाब दिएका छन्।

जनकपुरमा जारी राजपा नेपालको अध्यक्ष मण्डल, मन्त्री तथा प्रदेश सांसदहरुको संयुक्त बैठकमा प्रदेश सांसद तथा राज्यमन्त्री हरुले मन्त्री फेरबदल गर्न र केन्द्रीय नेतृत्वलाई दबाब दिएका हुन्।

बैठकमा प्रदेशसभा सदस्य र राज्य मन्त्रीहरुले आफ्ना पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको कामप्रति असन्तुष्टि जनाउँदै उनीहरु को स्थानमा अरु नेतालाई पठाउनु पर्ने बताएका हुन्। राय मन्त्री भएपछि मन्त्रालय नै नआउने गरेको र घरबाटै काम गर्ने गरेको भन्दै उनको ठाउँमा अर्को व्यक्तिलाई मन्त्री बनाउनुपर्ने सांसदहरुले माग गरेका थिए।

मन्त्री राय स्वास्थ्यको कारण देखाउँदै विगत लामो समयदेखि निवास बाटै मन्त्रालयका काम गर्दै आएका छन्। बैठकमा मन्त्रीद्वयको चर्को आलोचना भएपछि पार्टी नेतृत्वले उनीहरुलाई सफाई दिन समय दिएको थियो। तर ती मन्त्रीहरुले राज्यमन्त्री र सांसदहरुले आफूहरु माथि झुठो आरोप लगाएर नेतृत्वमा भ्रम छरेको भन्दै आफ्नो बचाउ गरेका थिए।

बैठकमा रमेश पटेल, बाबुलाल साह, उपेन्द्र महतो र दुखी यादव लगायत सांसदहरुले मन्त्री राय र साहको काम कारवाही र कार्य सम्पादन अत्यन्त कमजोर रहेको र आगामी दिनमा समेत उनीहरुबाट कुनै आशा गर्न नसकिने भन्दै तत्काल हटाउन माग गरेका थिए।

जवाफमा केन्द्रीय नेतृत्वले तत्काल मन्त्रीहरु फेर्न असम्भव रहेको बताएपछि स्थानीय नेताहरुले तत्काल निर्णय नलिए विद्रोह गर्ने चेतावनी दिएका थिए। त्यसपछि केन्द्रीय नेतृत्वले अध्यक्ष मण्डलको बैठक बसेर निर्णय गर्ने भन्दै आस्वस्त पारेका थिए।

मन्त्रीको आफ्नै दाबी

असन्तुष्ट सांसद तथा राज्यमन्त्रीहरुले मन्त्री रायले विधेयकको नाममा कर्मचारी सरुवा, बिल भुक्तानी र भवन मर्मत सम्भारका नाममा व्यापक अनियमिता गरेको भन्दै जवाफ मागेका थिए।

तर, मन्त्री रायले यसको जवाफ नै नदिएको एक सांसदले बताए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नवलकिशोर साहले उनीमाथि लागेको आरोपको तर्कपूर्ण जवाफ नदिई गलत आरोप लगाएको भन्दै सरकारको कामबाट जनता खुसी रहेको दाबी गरेका थिए।

राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले मन्त्रीहरुको चर्को आलोचना भएको स्वीकार गरे। उनले सांसद र मन्त्रीहरुको गुनासो अध्यक्षहरुले चासोका साथ लिएको भन्दै त्यसबारे छलफल हुने बताए।

सांसद र राज्यमन्त्रीहरुको गुनासो

बैठकमा सांसद र राज्यमन्त्रीहरुले सबै काम मनत्रीहरु ले नै गर्ने गरेको गुनासो गरेका थिए। ‘हाम्रो कुनै मूल्य छैन। केही काम गर्नु पर्दा सल्लाह सुझाव वा छलफल पनि गरिँदैन। सबै काम मन्त्रीहरुले मात्रै गर्छन्’, बैठकमा सांसद र राज्यमन्त्रीहरुले गुनासो पोखेका थिए। आफूहरुको भूमिका मन्त्रीहरुले निस्तेज पारेको भन्दै आसन ग्रहण तथा भाषण गर्न बाहेक नबोलाइने गरेको उनीहरुको भनाइ थियो।

राजपाको बैठक जनकपुरमा प्रदेश सरकारको समीक्षा तथा पार्टीको नीति तय गर्न शुक्रबार बाट जारी छ। बैठकमा स्थानीय तह, गठबन्धन, सरकारका काम-कारवाही र पार्टीबाट सरकारमा सहभागी मन्त्रीको अनुभव र समस्या समाधानबारे छलफल भइरहेको राजपा अध्यक्ष मण्डलले जनाएको छ।

बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव, सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव सहभागी छन्। बैठकमा प्रदेश नम्बर २ का भौतिक विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री रामनरेश राय, राज्यमन्त्रीहरु सुरेश मण्डल, अभिराम शर्मा र डिम्पल झा सहभागी छन्। प्रदेश नम्बर २ मा सङ्घीय समाजवादी फोरम र राजपा गठबन्धनको सरकार छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083