बैठक बहिस्कार गरेर कांग्रेसका नेताहरू भोज खान हिँडे
वि.सं.२०७५ फागुन १५ बुधवार १३:०३
shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका ठूला नेताहरू विवाह भोज खान तराई झरेका छन्। ललितपुरको सानेपामा मांगलबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले पेलेर जान खोजेको भन्दै पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले बैठक बहिस्कार गरेका थिए।
अनुशासन समिति बनाउने विषयमा पौडेल र सिटौला समूहले बखेडा झिकेका थिए। पौडेल र सिटौलाले पाँच सदस्यीय अनुशासन समितिमा दुई वटा सदस्य पाएका छन्। देउवाले संयोजकसहित दुई सदस्य आफैले राखेका छन्। पौडेल र सिटौला समूहले अनुशासन समितिले जे निर्णय गरे पनि सर्वसम्मत गर्नुपर्ने उट्पट्याङ अडान राखेपछि बैठक नै बस्न नसकेको हो। पौडेल र सिटौला समूहका कारण मंगलबारको बैठक बस्न सकेन। केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
बैठकमा सहभागी नभएका वरिष्ठ नेता पौडेल, माहामन्त्री डा।शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइराला, केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाकी मुख्य सचेतक सरिता प्रसाइँ रौतहट विवाह भोज खान आएका हुन्। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद मोहम्मद अफताब आलमका छोराको विवाह भोज खान आएको स्रोतले जनाएको छ।
बाराको सिमरा एयरपोर्टमा कांग्रेसका नेताहरू अपरान्ह पुगेका थिए। उनीहरूलाई नेपाली कांग्रेस रौतहटका प्रतिनिधि सभाका सांसद देवीप्रसाद तिमिल्सिनासहितका नेताहरूले स्वागत गरेका थिए। कांग्रेस सांसद आलमका छोराको विवाह भोज फागुन १५ गते बुधबार रहेको छ। कांग्रेसका नेताहरू विवाह भोज खाएर मात्रै काठमाडौं फर्कनेछन्।































