प्रम ओली र ‘प्रचण्ड’आज झापाको सुखानी श्रद्धाञ्जली सभामा,पहिलो पटक एक साथ सम्बोधन
वि.सं.२०७५ फागुन २१ मंगलवार ०८:५४
shares

भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इलामको माईनगरपालिकामा रहेको सुखानी शहीद उद्यानमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुन मंगलबार इलाम आउँदैछन्।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड झापाको चन्द्रगढी विमानस्थल हुँदै इलाम र झापाको सीमावर्ती क्षेत्र सुखानीमा हुने कार्यक्रममा जाने भएकाले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा योजना बनाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।
यस्तो छ कार्यक्रम
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय बनेका ओली र प्रचण्ड सुखानीको श्रद्धाञ्जली सभा कार्यक्रममा पहिलो पटक एक साथ आउन लागेका हुन्। नेकपाले ४६औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउने भएपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड आउन लागेको नेकपाका जिल्ला नेता चिन्तन पाठकले जानकारी दिए। पार्टी एकता पछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाट सुखानी शहीद स्मृति दिवसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले बताए।
आन्दोलनका क्रममा माइनगरपालिकाको सुखानी जंगलमा हत्या गरिएका पाँच जना शहीद, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहित केही दिनअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका पूर्वउपप्रधान तथा नेकपाका नेता भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीको अध्यक्षद्वयले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम समेत रहेको नेकपाका नेता मणिकुमार राई साम्पाङले बताए। अघिल्लो वर्षहरुमा तत्कालीन एमाले र माओवादीले फरक फरक स्थानमा फरक दिन सो दिवस मनाउँदै आइरहेका थिए।
के हो सुखानी काण्ड रु झापा र इलामाको सीमावर्ती क्षेत्र माइनगरपालिका स्थित सुखानीमा ४६ वर्षअघि कम्युनिस्ट आन्दोलनमा पाँच जनाले एकै साथ शहादत प्राप्त गरेको घटनालाई ‘सुखानी काण्ड’को नामले चिनिन्छ। पञ्चायती व्यवस्था विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाल लाई तत्कालीन पञ्चायती शासकले सुखानी जंगलमा लगेर हत्या गरेकोे थियो। घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको साविक गरामनी गाविस तथा दाहाल साविक चारपाने गाविस र राजवंशी साविक ज्यामिरगढी गाविसका बासिन्दा थिए। तत्कालीन कम्युनिस्ट पार्टीको झापास्थित ‘मेची– कोशी कोअर्डिनेशन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो। मोर्चाबन्दी संलग्न रहेको आरोपमा पञ्चायत सरकारले पक्राउ गरेका पाँच जनालाई झापा कारागार चन्द्रगढीमा कैदीबन्दी बनाएर राखेका थिए।
चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने बहानामा २०२९ फागुन २१ मा सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो। सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले शहीदहरुले सहादत्त गरेको नमुना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक निर्माण गरिएको छ। त्यस ठाउँमा झापा विद्रोहका योद्धालाई सम्झनामा प्रत्येक फागुन २१ मा तत्कालीन नेकपा९एमाले० र नेकपा ९माले०ले छुटृाछुटृै श्रद्धाञ्जलीसभा आयोजना गर्दै आएका थिए।




























