कांग्रेस भित्रको विवाद सतहमा, घेराबन्दीमा सभापति देउवा
वि.सं.२०७५ फागुन २४ शुक्रवार ११:४०
shares

काठमाडौं। गत पुसमा सम्पन्न महासमिति बैठक पछि एकढिक्का हुने ठानिएको कांग्रेसको आन्तरिक विवाद झनै बल्झिँदै गएको छ। माउ पार्टी कांग्रेसभित्र मात्र होइन, विवादको श्रृंखला भातृ संगठनहरूमा पनि उत्तिकै कायम छ। नेपाल विद्यार्थी संघले आफ्नो आन्तरिक विवादको शुरूवात कांग्रेसकै शीर्ष नेताको गुटबन्दीका कारण भएको मानेको छ भने ट्रेड युनियन कांग्रेस पनि शीर्ष नेताहरूसँग रुष्ट छ।
केही दिन अघि मात्र पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघको तदर्थ समितिमा ३२ वर्षे उमेरहद कायम राख्ने कि नराख्ने भन्ने विषयमा विवादरत पक्षबीच ढुंगा हानाहान भयो। केही विद्यार्थी घाइते पनि भए। मंगलवार ५६ जिल्लाका जिल्ला सभापतिहरूले एउटा विज्ञप्ति निकालेर नेतृत्वको कार्यशैली लोकतान्त्रिक नभएको आरोप लगाए। कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने/नहुने र समानुपातिकमा कति पटकसम्म अवसर पाउने भन्ने विवाद चल्दै आएको थियो।
फागुन १२ गते कांग्रेस केन्द्रीय समिति बैठकले बहुमतबाट महासमिति बैठकमा पार्टीले प्रतिबद्धता जनाएको विषयलाई उल्ट्याएर केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था कायम गर्यो। सभापति शेरबहादुर देउवाले सहमतिका लागि केन्द्रीय समितिको बैठक एक महिनासम्म लम्ब्याए पनि कुनै सहमति हुन सकेन।
पार्टीभित्रको आन्तरिक विवाद चुलिँदै गएपछि बीचमा स्थगित भएकोे नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी ४ चैतका लागि बोलाइएको छ। महासमिति बैठकको निर्देशन विपरित केन्द्रीय समितिले बहुमतको आधारमा विधान पारित गरे पछि कांग्रेस भित्र विवाद चुलिएको छ। केन्द्रीय समितिले बहुमतले पारित गरेको विधानप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षधरले असहमति जनाएका छन्।
पौडेल र सिटौला पक्षधरलाई समर्थन हुने गरी ५६ जिल्लाका जिल्ला सभापतिले महासमिति बैठकले दिएको निर्देशन अनुसार नै विधान पारित हुनुपर्ने भन्दै विज्ञप्ति जारीगरे पछि सभापति शेरबहादुर देउवा अप्ठेरोमा परेका छन्। फागुन १२ गते बसेको केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा विधान पारित गरेपछि अर्को बैठक फागुन १४ गतेलाई बोलाइएको थियो। तर पौडेल र सिटौला पक्षधरले बहिष्कार गर्ने चेतावनी दिएपछि बैठक स्थगित भएको थियो।
चैत चार गने बोलाइएको बैठकमा सभापति देउवाले अनुशासन समितिसहित निर्वाचन समिति गठनको प्रस्ताव केन्द्रीय समितिमा ल्याउने तयारी गरेको बताइएको छ। तर पौडेल र सिटौला पक्षले भने संस्थापन पक्षले एकतर्फी रूपमा अनुशासन समिति र निर्वाचन समिति गठनको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै चैत चार गते बलाइएको बैठक पनि बहिष्कार गर्ने रणनीति बनाएको पौडेल निकट एक केन्द्रीय सदस्यले दाबी गरे।
पहिला पनि बहुमत र अल्पमतको आधारमा विधान पारित गरियो,’ नाम उल्लेख नगर्ने शर्तमा ती केन्द्रीय सदस्यले भने, ‘चार गते बोलाइएको बैठकमा पनि सभापतिले अनुशासन समितिसहित निर्वाचन समिति गठनको प्रस्ताव केन्द्रीय समितिमा ल्याउने तयारी गरेको बुझिएको छ। यस्तो बैठकमा सहभागी हुनुको अर्थ छैन। पुसको अन्तिम साता बसेको कांग्रेस महासमिति बैठकले पार्टी भित्रबाट १ जना नेता एक पटक मात्र समानुपातिक सांसद बन्न पाउने र पार्टीको केन्द्रीय सदस्य बन्नका लागि वडाबाट नै निर्वाचित भएर आउनुपर्ने प्रावधान पारित गरेको थियो।
तर, एक साताअघि बसेको केन्द्रीय समितिको बैठकले यी दुवै प्रावधानलाई उल्ट्याउँदै पुरानै व्यवस्था कायम गर्यो। केन्द्रीय समितिको यही निर्णयका विरुद्ध कांग्रेस शीर्ष नेताहरुले सभापतिविरुद्ध मोर्चाबन्दी गरेका हुन्। कांग्रेसमा १४ औं महाधिवेशनको मिति नजिकिन थालेपछि पार्टीभित्र चर्को गुटबन्दी सुरु भएको छ। सभापति देउवा अर्को कार्यकाल पनि आफू सभापति हुन चाहन्छन् भने पौडेलपक्ष उनलाई रोक्न चाहन्छ।





























