देश आर्थिक समृद्धितर्फ लम्केको छ : मुख्यमन्त्री पोखरेल
वि.सं.२०७५ फागुन २६ आइतवार १२:५०
shares

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुक समृद्धितर्फ अघि बढिरहेको दाबी गरेका छन्। शनिबार मुख्यमन्त्री कार्यालयमा नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीसँगको साक्षात्कारमा उनले संघीय व्यवस्थाका कारण देश आर्थिक समृद्धितर्फ लम्केको दाबी गरेका हुन्। तर संघले प्रदेशलाई अधिकार प्रत्यायोजनमा ढिलासुस्ती गरिरहेको भन्दै यसले विकास निर्माणका काममा समस्या भइरहेको मुख्यमन्त्री पोखरेलले गुनासो गरे।
‘संविधानमा भएको अधिकारसमेत प्रत्यायोजन नहुँदा समस्या भइरहेको छ,’ उनले भने। मुख्यमन्त्री पोखरेलले नेपालमा कृषिको सम्भावना राम्रो रहेकाले यसमा केही मेहनत गर्न सके समृद्धिको यात्रामा फड्को मार्न सकिने बताए। पछिल्लो समय नेपालका पर्यटकीय स्थल घुम्न आउने विदेशी पर्यटक बढेको बताउँदै यसले पनि आर्थिक समृद्धि बढाउने धारणा राखे। ‘पर्यटकीय गन्तव्यहरूमा पर्यटक आउने क्रम बढेको छ,’ उनले भने, ‘पर्यटक बढ्नु भनेको आर्थिक समृद्धि बढ्ने संकेत हो।
निर्यातभन्दा आयात बढी भएको सन्र्दभमा वस्तुगत स्थिति नबुझेर निराश भएको मुख्यमन्त्री पौडेलको जिकिर छ। आयात कुनै विलासी वस्तु नभएर विकास निर्माणकै सामग्री भएकाले यसले देश विकासतर्फ नै उन्मुख भएको संकेत गर्ने उनको दाबी देश विकासतर्फ नै उन्मुख भएको। यस्तै उनले ठूला आयोजनाहरूले गति लिएको दाबी पनि गरे। भेरी बबई डाइभर्सन र रानी जमराको काम अन्तिम चरणमा पुगेको उनको दाबी छ। ‘भेरी बबई डाइभर्सनमा सुरुङ खन्ने काम लगभग सकिन लागिसक्यो,’ उनले भने, ‘तर काम नभएको भन्ने हल्ला गर्छन्।
यस्तै मुख्यमन्त्री पोखरेलले उर्जाको क्षेत्रमा पनि प्रगति भइरहेको दाबी गरे। ‘अहिले उर्जाको क्षेत्रमा पनि उदाहरणीय काम भएको छ,’ उनले भने, ‘उपभोक्ताले इन्भटर आयात गर्नुपरेको छैन, यसको मतलब विद्युत् खपत भइरहेको बुझिन्छ। शिक्षा क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताउँदै उनले प्रदेशका अधिकत्तर विद्यालय अब पूर्वाधारसम्पन्न हुने दाबी गरे। भौतिक पूर्वाधार अभाव रहेका विद्यालयहरूका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले थप २० लाख विनियोजनका लागि नीतिगत निर्णय प्रक्रिया अघि बढेको जानकारी दिए।





























