कर्मचारी समायोजन सकिएको मन्त्री पण्डितको घोषणा

6.41K
shares

काठमाडौं। सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजनाको सबै काम सम्पन्न गरिएको घोषणा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको जानकारी गराएको हो।

संवैधानिक व्यवस्थाअनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सकिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए। उनले केही प्राविधिक कर्मचारीहरू अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको जानकारी दिए। कर्मचारी समायोजनमा सबैभन्दा बढी स्थानीय तहमा परिचालन गरिएको छ। स्थानीय तहमा ६६ हजार ९०८ जना कर्मचारी समायोजन गरिएको हो।

त्यसैगरी प्रदेशमा २२ हजार ७९७ र संघमा ४८ हजार ४०९ कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। सरकारले यही आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरूको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ। देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरूको अभाव भइरहेको गुनासो आइरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरूको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिएको पनि बताए। अब लोक सेवा आयोगले १५ देख २० हजार विभिन्न तहको कर्मचारीको लागि आवेदन खोल्ने बताइएको छ।

लोक सेवा आयोगको परीक्षा पास गरेकाहरूबाट आवश्यक कर्मचारीको व्यवस्था गर्ने मन्त्री पण्डितको योजना छ। मन्त्री पण्डितले कर्मचारीहरूको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोक सेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने पनि बताए।


unigloble collage
baneshwor multiple campus ad -2083