‘वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तुलना नर्गनुहोस्’ : मन्त्री बाँस्कोटा
वि.सं.२०७५ चैत १७ आइतवार ११:३२
shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्व राजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न चेतावनी दिएका छन्। रिपोर्टस क्लबको २१ औं बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तलुना नगर्न आग्रह गरेका हुन्। सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिवद्धता पनि गरे।
उनले भने, ‘प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ। स्वतन्त्रता अपहरित हुँदैन। ज्ञानेन्द्रसँग तुलना नगर्नु होला। ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य, लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र देशभक्ति पूर्ण आन्दोलन र जनताको नागरिक आन्दोलनको लागि विल्कुल भिन्न पृष्ठभूमि हो। कसैले जनताको अधिकार खोस्यो। कसैले जनताको अधिकारका निम्ति संँगसँगै लडेर आएको छ। ७ साल देखि नै लडेर आएको छ।
उनले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गरे। उनले भने, ‘प्रतिष्ठित पत्रकार वास्तविक पत्रकार अहिले लज्जित हुँदैछन्। रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के के सम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैलाई लाज लाग्दैन अहिले के लेखियो भनेर ? आफ्नो धोती फुस्केको थाहा छैन। सरकारमाथि ख्याउ ख्याउ अचम्म लाग्छ।’
नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उनले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह गरे। सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणी प्रति पनि उनले आक्रोश पोखे। उनले भने, ‘कसले फेसबुकमा ट्विटरमा प्रतिबन्ध लगाउने भनेको छ ? पैसा चाँहि तिर्नु पर्छ कि पर्दैन यहाबाट पैसा लगेपछि ? ट्याक्स तिर्नुपर्छ कि पर्दैन ? हामीले सम्वृद्ध राष्ट्र बनाउने भनेका छौं। विज्ञापनको बजार विस्तार हुनु पर्छ कि पर्दैन ?
उनले आगामी बर्षमा समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिड विज्ञापन प्रणाली लागू हुने उद्घोष गरे। उनले यसै वर्ष ल्याउने तयारी भइरहेको मिडियाको पनि छाता ऐनले पनि संञ्चार क्षेत्रलाई थप व्यवस्थित पार्ने विश्वास व्यक्त गरे।






























