तीन खेल लगातार जितेको चेन्नई चौथो खेलमा मुम्बईसँग पराजित
वि.सं.२०७५ चैत २१ बिहीवार १०:४९
shares

एजेन्सी । नयाँ दिल्ली (एजेन्सी) भारतमा यति बेला क्रिकेटको ज्वरो आएको छ। इण्डियन प्रीमियर लीगको एक चौथाई खेल सकिसकेका छन्।
प्रतियोगिता दोस्रो हप्तामा चलिरहँदा बुधबार आईपीएलकै सबैभन्दा सफल दुई टीम चेन्नई सुपरकिंग्स र मुम्बई इण्यिन्सबीच मुम्बईको वांखडे मैदानमा खेल सम्पन्न भएको छ। तीन खेल लगातार जितेको चेन्नई मुम्बईसँग ३७ रनले पराजित भएको छ।
१७१ रनको लक्ष्य पाएको चेन्नइले १३३ रनमात्र बनाउन सक्यो। उसले ८ विकेटमा सो रन बनाएको हो। चेन्नईका लागि केदार जाधवले ५४ बलमा ५८ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।
मुम्बईको जितमा ब्याटिंगबाट कमाल गरेका हार्दिक पंड्याले बलिंगबाट पनि कमाल गरे।
उनले खतरनाख देखिएका चेन्नईका कप्तान महेन्द्रसिंह धोनी, रविन्द्र जडेजा र दिपक चहरको विकेट लिए। उनले धोनी र जडेजालाई एउटै ओभरमा आउट गरेपछि मुम्बई जित नजिक पुगेको थियो।
अन्तिम ओभर गर्न आएका पंड्याले चहरलाई आउट गरेका थिए। यसअघिघ टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले ५ विकेटमा १७० रन बनाएको थियो। मुम्बईले चेन्नईका ड्वेन ब्राभोको अन्तिम ओभरमा २९ रन जोडेको थियो।
उनलाई मुम्बईका हार्दिक पंड्याले दुई छक्का हाने भने एक छक्का किरोन पोलार्डले प्रहार गरेका थिए। पंड्या ८ बलमा २५ रन बनाएर नटआउट रहे भने पोलार्डले ७ बलमा १७ रनको योगदान दिए।
मुम्बईका लागि सूर्यकुमार यादवले सबैभन्दा धेरै ४३ बलमा ५९ रनको योगदान दिए भने क्रुणाल पंड्याले ४२ रन बनाए। यस्तै कप्तान रोहित शर्माले १३ रन बनाए। ओपनर क्वान्टन डि कक भने ४ रनमा आउट भएका थिए। आईपीएलको १२ औं सिजनमा आइपुग्दा यी दुई टीमलेमात्र ६ पटक उपाधि उचालेका छन्। दुबै टीमले तीन तीन पटक उपाधि जितेकाले यी टीम आईपीएलका सबैभन्दा सफल टीम बनेका हुन्।




























