प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको छैन : सञ्चार मन्त्री वाँस्कोटा

5.95K
shares

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल वाँस्कोटाले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको बताएका छन्। विक्री वितरण भएको भनिएको जग्गा प्रधानमन्त्री निवास छेउको रहेको उनको भनाइ छ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले बालुवाटारको जग्गा अनुचित ढंगमा व्यक्तिको नाममा लगिएको रहेछ भने त्यसलाई सरकारले नछोड्ने बताए।

‘सत्तारुढ हुन् वा प्रतिपक्षी हुन्, दोषी देखियो भने कोही पनि उम्कदैंन’ प्रवक्ता बाँस्कोटाले भने, ‘यो राजनीतिको कुरा भन्दा पनि कानूनको कुरा हो, त्यस कारण प्रभावित हुँदैन।’

सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्री बाँस्कोटाले जग्गा खरिद प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल पनि पीडित भएको दाबी गरे।

‘उहाँ त्यो फर्जी धन्दामा संलग्न भएको होइन नि ! तेस्रो पक्षबाट जग्गा किनेको हुँ भन्नु भएको छ। किन्नेहरु वा जो ठगीमा पर्नु भएको छ उहाँहरु त अपराधी होइन, उहाँ पीडित हुनु भयो। किनकी उहाँले किन्नु भयो जग्गा, तर परेछ नक्कली !’

प्रवक्ता बाँस्कोटाले नक्कली कागजात खडा गरेर जसले उक्त जग्गा निजीकरण गर्‍यो त्यस माथि कारवाही हुने र त्यो पक्षले पछि किन्नेलाई क्षतिपूर्ति तिर्नु पर्ने दाबी गरे। उक्त जग्गा रोक्का राख्ने निर्णय सरकारले गरेको गरि सकेको र थप अनुसन्धान गर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो।