लुक्ला विमान दुर्घटनाको छानबिन समिति गठन
वि.सं.२०७६ वैशाख २ सोमवार ११:४६
shares

काठमाडौं। सरकारले लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा आइतवार बिहान भएको समिट एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न एक समिति गठन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।
सो समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डङ्गोल सदस्य रहेका छन् भने समितिको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।
सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतवार बिहान सवा९ बजेको समयमा भएको सो दुर्घटनामा दुई प्रहरीसहित तीनको मृत्यु भएको थियो भने चार जना घाइते भएका छन्।
लुक्लाबाट रामेछाप उड्ने क्रममा रहेको ‘नाइन एन एएमएच’ कलसाइन विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको श्री एयर र मनाङ एयरको ‘नाइनएन एएलसी’ कल साइन हेलिकप्टरसँग ठक्कर खाई दुर्घटना भएको थियो।
दुर्घटनामा परी समिट एयरका सहायक पाइलट सुजित ढुङ्गाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको थियो।
उक्त घटनामा समिट एयरका पाइलट रवीनाथ रोकाय र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर सामान्य उपचारपश्चात् घर फर्किसकेको मन्त्रालयद्वारा आइतवार साँझ जारी विज्ञप्तिमा उल्लेख छ।




















