मेघगर्जनसहित वर्षाको सम्भावना, आगामी २४ घण्टा सतर्कता अपनाउन आग्रह

5.29K
shares

काठमाडौँ ।

स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘प्रि–मनसुन’ शुरु भएकाले स्थानीय वायुको प्रभाव परेको मौसमविद्ले जनाएका छन् । राति देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तै, भोलि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टालाई चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २३ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।