प्रधानमन्त्री ओलीको आज मृगौला प्रत्यारोपण गरिदैँ

5.53K
shares

काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीको आज बुधबार बिहान ९ बजे दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिने भएको छ।

उहाँलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भीभीआईपी क्याबिन ६०१ नम्बरमा सोमबार साँझ भर्ना गरिएको थियो। उहाँको स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

उहाँको मंगलबार बिहानदेखि नै मृगौला प्रत्यारोपणपूर्व गरिने डायलासिस, हेमोग्लोबिन, रगत परीक्षणलगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गरिसकिएको उपचारमा संलग्न चिकित्सकले जानकारी गराएका छन्।

मंगलबार बेलुका १० बजेपछि उहाँलाई खालिपेट राखिने र बिहान जतिसक्दो चाँडो प्रत्यारोपण थालनी गरिने भएको छ। मृगौला प्रत्यारोपणको नेतृत्व अस्पतालका वरिष्ठ सर्जन प्राडा प्रेम ज्ञवालीले गर्नुहुने भएको छ।

अस्पताल कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व नेपाली टोलीले नै गर्दै छन्। चिकित्सक टोलीमा उहाँका निजी चिकित्सक तथा नेफ्रोलोजिस्ट डा. दिव्या सिंह शाह, डा. उत्तम शर्मा, प्राडा. ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुवास आचार्य हुनुहुन्छ भने २ जना एनेस्थेसियाका चिकित्सक र नर्स, स्वास्थ्यकर्मीको टोली प्रधानमन्त्रीको उपचारमा खटिएका छन्।

प्रधानमन्त्री ओलीलाई उहाँकै भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै छन्। मिर्गौला प्रत्यारोपण नेपालमै एक दर्जनभन्दा बढीमा भइसकेको र सफल दर पनि उच्च रहेको प्रत्यारोपणको नेतृत्व गरिरहनुभएका प्राडा. ज्ञवालीले बताउनुभयो। अहिलेसम्म नेपालमा मिर्गौला प्रत्यारोपणको सफल दर झन्डै ९८ प्रतिशत रहेको उहाँले जानकारी गराउनुभयो।

प्रधानमन्त्री पनि मिर्गौला प्रत्यारोपण सफल हुनेमा ढुक्क हुनुहुन्छ। सफलताको कामना गर्न जानेको भीड मंगलबार दिनभरि मात्र होइन साँझसम्म पनि रोकिएको थिएन। मन्त्री, नेताहरू, शुभचिन्तकको भीडले अस्पताल खचाखच देखिन्थ्यो।

प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो। पुनः उहाँको मिर्गौलाले काम गर्न छोडेका कारण दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो। पहिलोपटक भारतको अपोलो अस्पतालमा भारतीय चिकित्सक प्राडा. अनन्तकुमारले गर्नुभएको थियो। उहाँ सोमबारै नेपाल आइसक्नुभएको छ।

यसैबीच नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। संघका महासचिव डा. बद्रि रिजालले जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्रीले देखाउनुभएको कार्यको अनुशरण गर्नुहुन पनि आग्रह गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083