प्रचण्डमाथि जुत्ता हान्ने तिरुवा सहिद परिवारकै, विप्लव कार्यकर्ता नभएको प्रहरीको निष्कर्ष

5.6K
shares

मुक्ति खबर,काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवा युवा द्वन्द्वकालका सहिद परिवारका सदस्य रहेको तर नेत्रविक्रम चन्द विप्लव समूहसँग कुनै आवद्धता नरहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

गत आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा संवोधन गर्ने क्रममा प्रचण्डलाई जुम्लाका २२ वर्षे युवा रतन तिरुवाले प्रचण्डलाई ताकेरै जुत्ता प्रहार गरेपछि उनीमाथि अनुसन्धान गर्न प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो। मञ्चमै रहेका दाहाललाई जुत्ताले लाग्न भने पाएको थिएन। तिरुवालाई प्रहरीले कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएको थियो।

सो समितिले आफ्नो अनुसन्धान प्रतिवेदनमा सो ठहर गरेको हो। टोलीले अनुसन्धान प्रतिवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई बुझाइसकेको संयोजक थापाले बताए।

‘उनका बुवा माओवादी द्वन्द्वकालमा मारिएको हुँदा उनी सहिद परिवारकै सदस्य रहेको पाइयो। तर, उनी विप्लवका कार्यकर्ता भएको पाइएन,’ थापाले भने। प्रतिवेदनका अनुसार उनका बुवा द्वन्द्वकालमा राज्यपक्षबाट मारिएका थिए।

शहिद परिवारको योगदानका बावजुद पनि उनीहरुलाई उचित सम्मान नगरेको ती युवाको गुनासो रहेको थापाले बताए।

समितिमा प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी र सिंहदरबार वृत्तका प्रहरी निरीक्षक युवराज तिमल्सिना रहेका छन्।

सो घट्नालगत्तै नेकपाको जुम्ला कमिटीका अध्यक्ष वीरबहादुर कुँवरले विज्ञप्ति प्रकाशित गरी रतनका बुबा जनयुद्धमा सहिद नभएको दाबी गरेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083