प्रहरी हेडक्वार्टरद्वारा एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन

6.38K
shares

काठमाडौ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा प्रधान कार्यालयले समिति गठन गरेको हो।

प्रहरीलाई निर्वाचन तयारी गर्न गृह मन्त्रालयको आदेश छ। सोही आदेश अनुसार नै प्रधान कार्यालयले चुनावको तयारी गरिरहेको एक अधिकारीले  बताए।

पोखरेल कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख हुन्। पोखरेल नेतृत्वमा प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र सूचना तथा समन्वय शाखाका डिआइजी सुनिल श्रेष्ठसहितको ३७ सदस्यीय समिति गठन भएको प्रधान कार्यालयले जनायो।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार यो समितिले निर्वाचन सुरक्षा परिचालन गर्नेछ। साथै, साधन स्रोतको व्यवस्थापन र चुनावको सबै वातावरण तयार पार्नेछ।

सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरेको छ। प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको घोषणा गरेकी थिइन्।

प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन हुँदै सरकार भने निर्वाचनको तयारी गरिरहेको बताइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083