वेस्ट इन्डिजसँग निर्णायक भिडन्त अघि नेपालको तयारी

2.17K
shares

नेपाल राष्ट्रिय क्रिकेट टोली ले आइतबार हुने महत्त्वपूर्ण खेलअघि अन्तिम तयारी पूरा गरेको छ। नेपाली टोलीले शनिबार मुम्बईस्थित वानखेडे स्टेडियममा अभ्यास गर्दै आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत वेस्ट इन्डिज क्रिकेट टोली विरुद्धको खेलका लागि आफूलाई तयार बनाएको हो। खेल आइतबार बिहान करिब ११ बजे सुरु हुनेछ।

समूह ‘सी’ मा नेपालले आफ्नो तेस्रो खेल खेल्न लागेको हो। यसअघि दुवै खेलमा पराजित नेपाल अंकविहीन अवस्थामा पाँचौं स्थानमा छ भने स्कटल्यान्ड र इंग्ल्यान्डलाई हराउँदै वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा अपराजित छ।

शनिबारको अभ्यासमा नेपाली खेलाडीले वानखेडेको पिचमा नेट सेसन गरेका थिए। मुख्य प्रशिक्षक स्टुअर्ट ल र बलिङ कन्सल्ट्यान्ट इयान हार्भेको मार्गदर्शनमा खेलाडीहरूले ब्याटिङ र बलिङ दुवै पक्षमा तयारी गरे। स्थानीय नेट बलरहरूको बलिङमा नेपाली ब्याटरहरूले लामो समय अभ्यास गरेका थिए।

सुपर एट पुग्ने लक्ष्यसहित प्रतियोगितामा उत्रिएको नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग रोमाञ्चक प्रदर्शन गर्दै ४ रनले हार बेहोरेको थियो। तर दोस्रो खेलमा डेब्युट टोली इटलीसँग १० विकेटको लज्जास्पद हारले टोलीलाई दबाबमा पारेको छ।

यसअघि सेप्टेम्बरमा शारजाहमा भएको युनिटी कप टी२०आई सिरिजमा नेपालले वेस्ट इन्डिजलाई २–१ ले हराउँदै ऐतिहासिक सफलता हासिल गरेको थियो। यद्यपि त्यसबेला वेस्ट इन्डिजले आफ्ना अधिकांश प्रमुख खेलाडीलाई आराम दिएको थियो। उक्त सिरिजमा खेलेका अकिल होसेन र जेसन होल्डर मात्र अहिलेको विश्वकप टोलीमा छन्।

अब अपराजित वेस्ट इन्डिजविरुद्धको खेल नेपालका लागि ‘गर या मर’ जस्तै बनेको छ। प्रतियोगितामा सम्भावना जीवित राख्न नेपाललाई जित अनिवार्य देखिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083