धनुषा–१ को परिणाम घोषणा नगर्न आयोगको निर्देशन
वि.सं.२०८२ फागुन २४ आइतवार १६:३२
shares

काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम तत्काल घोषणा नगर्न निर्देशन दिएको छ। आयोगको निर्णयअनुसार आइतबार धनुषा जिल्ला क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाइएको हो।
आयोगका शाखा अधिकृत (कानून) अरुण अधिकारीका अनुसार आयोगले फागुन १८ गते धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम रहेको प्रमाण प्राप्त भएपछि उम्मेदवारी खारेज गरिएको आयोगको भनाइ छ।
उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भई हाल विचाराधीन रहेको छ। त्यसैले अदालतबाट आदेश नआएसम्म धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गतको मत परिणाम घोषणा नगर्न आयोगले निर्देशन दिएको हो।
आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पत्र तामेल गराई त्यसको जानकारी आयोगलाई उपलब्ध गराउन प्रदेश निर्वाचन कार्यालयलाई पनि बोधार्थ पठाएको जनाएको छ।















