ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
वि.सं.२०८२ चैत १ आइतवार १४:२३
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लाई समवेदना व्यक्त गर्न भक्तपुरको गुण्डुस्थित निवास पुगेकी छन्।
१ चैतमा प्रधानमन्त्री कार्की श्रीमान् सहित ओली निवास पुगेर परिवारजनप्रति समवेदना प्रकट गरेकी हुन्। केहीबेर बसेर उनले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्यधारण गर्न आग्रह गरेको स्रोतले जनाएको छ।
ओलीका पिता मोहनप्रसाद ओली को ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो। उनको निधनपछि राजनीतिक नेतृत्व तथा विभिन्न क्षेत्रका व्यक्तिहरू समवेदना व्यक्त गर्न गुण्डुस्थित निवास पुगिरहेका छन्।
यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि समवेदना व्यक्त गर्न ओली निवास पुगेकी थिइन्।
मोहनप्रसाद ओलीको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरिरहेका छन्।





















