सुदूरपश्चिमदेखि कोशीसम्म हावाहुरीको जोखिम

सतर्कता अपनाउन आग्रह

2.11K
shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार १६ वैशाख साँझ ५:४५ बजेदेखि १७ वैशाख बिहान ७:४५ बजेसम्म सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा हावाहुरी चल्ने अनुमान गरिएको छ।

सूचनाअनुसार सुदूरपश्चिमका डडेलधुरा, डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, मधेशका धनुषा, बारा तथा कोशी प्रदेशको मोरङ लगायत आसपासका क्षेत्रमा यसको प्रभाव देखिन सक्नेछ।

विभागले हावाहुरीसँगै मेघगर्जन, चट्याङ, असिना र वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने भएकाले देशका धेरै स्थान प्रभावित हुन सक्ने जनाएको छ। यसलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार हाल प्रिमनसुन प्रणाली सक्रिय भई पश्चिम (हिमाञ्चल क्षेत्र) र पूर्व (उत्तराञ्चल क्षेत्र) बाट आएका दुई मौसम प्रणाली नेपालमा मिसिँदा वर्षा र हावाहुरीको जोखिम बढेको हो। “दुवै प्रणाली छुट्टाछुट्टै हुँदा खासै प्रभावशाली थिएनन्, तर नेपालमा आएर आपसमा मिसिँदा र स्थानीय प्रणाली थपिँदा केही स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावना बढेको छ,” उनले बताए।

विभागका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र दुवै बढ्दै जानेछ। १५ वैशाखको तुलनामा १६ वैशाखमा बढी वर्षा हुने अनुमान गरिएको छ। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि बेलुकी तथा रातिको समयमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

यसैबीच, भोलि र पर्सि पूर्वी मेचीदेखि पश्चिम त्रिशूली–कालीगण्डकी क्षेत्रसम्म बेलाबेला वर्षा भइरहने सम्भावना छ।

मौसमविद्हरूले विशेष गरी रातिको समयमा यात्रा गर्दा जोखिम बढ्न सक्ने भन्दै त्रिभुवन, पृथ्वी, सिद्धार्थ, पासाङल्हामु तथा बीपी राजमार्गमा अनावश्यक यात्रा नगर्न सुझाव दिएका छन्।


divya collage
unigloble collage