काँकडभिट्टा तस्करी प्रकरण : सीडीओसहित ११ सुरक्षाकर्मीमाथि गृह मन्त्रालयको छानबिन
वि.सं.२०८३ असार २३ मंगलवार १५:२८
shares

काठमाडौं । झापाको काँकडभिट्टा नाकामा हुने तस्करीमा सुरक्षाकर्मीको संलग्नता रहेको आरोपपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका ११ जना सुरक्षाकर्मीमाथि छानबिन सुरु गरेको छ।
गृहमन्त्री सुधन गुरुङले हालै काँकडभिट्टा नाकाको निरीक्षणका क्रममा स्थानीयवासीबाट तस्करी र सुरक्षाकर्मीबीच मिलेमतो रहेको गुनासो सुनेपछि तत्काल अनुसन्धान गर्न निर्देशन दिएका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं, सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट काँकडभिट्टाका डीएसपी विकास थापासहित नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका ६ जना गरी ११ सुरक्षाकर्मी अनुसन्धानको दायरामा परेका हुन्।
प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा सम्बन्धित सुरक्षाकर्मीहरूको कल डिटेल, आर्थिक कारोबार तथा तस्करी समूहसँगको सम्भावित सम्पर्कको सूक्ष्म अध्ययन भइरहेको छ। यसअघि पनि तस्करी र अवैध असुलीको आरोपमा केही सशस्त्र प्रहरीमाथि अनुसन्धान भइरहेको थियो भने पछिल्लो घटनापछि थप सुरक्षाकर्मीलाई पनि छानबिनका लागि बोलाइएको छ।
गृह मन्त्रालय र प्रहरीका अनुसार अनुसन्धानबाट आरोप पुष्टि भए संलग्न जोसुकैमाथि विभागीय तथा कानुनी कारबाही अघि बढाइनेछ।




















