भूमि प्रशासनको डिजिटल रूपान्तरणदेखि क्यान्सर उपचारसम्म नेपाल–चीन सहकार्य विस्तार गर्ने
वि.सं.२०८३ साउन ९ शनिवार १४:२६
shares

९ श्रावण, काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीनबीचको द्विपक्षीय सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत) सरकारको सहयोगमा सञ्चालन भइरहेका विकास परियोजना, सिभिल अस्पतालको स्तरोन्नति, कार–टी सेल प्रयोगशाला स्थापना गरी क्यान्सर उपचार सेवा विस्तार तथा भूमि प्रशासनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने विषयमा विचार आदान–प्रदान भएको थियो।
भेटका क्रममा राजदूत झाङ माओमिङले सरकार गठनपछिका पहिलो १०० दिनमा मन्त्रालयले हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै सेवा प्रवाहमा सुधार, भूमि प्रशासनको डिजिटल रूपान्तरण र सुशासन प्रवर्द्धनका लागि चालिएका कदम सकारात्मक रहेको उल्लेख गरेका थिए।
मन्त्री रावलले सरकारका प्राथमिकताका कार्यक्रमलाई तीव्र रूपमा कार्यान्वयन गरिरहेको उल्लेख गर्दै चीनसँगको सहकार्यलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताएकी थिइन्।
सरकार गठनपछि मन्त्री रावल र राजदूत माओमिङबीच भएको यो पहिलो औपचारिक शिष्टाचार भेटलाई नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।


















