सुरक्षा जोखिम देखिएपछि सरकारी ईजीपी प्रणाली तत्कालका लागि बन्द

260
shares

काठमाडौं । सार्वजनिक खरिदसम्बन्धी काम हुँदै आएको विद्युतीय खरिद प्रणाली (ईजीपी) मा सुरक्षा जोखिम देखिएपछि सरकारले तत्कालका लागि प्रणाली स्थगित गरेको छ।

प्रणालीमा समस्या देखिएको करिब दुई सातापछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै ईजीपी पुनः सञ्चालनमा नआएसम्म बोलपत्र तथा खरिद प्रक्रिया वैकल्पिक माध्यमबाट अघि बढाउन सार्वजनिक निकायलाई निर्देशन दिएको हो।

कार्यालयका अनुसार सुरक्षा जोखिम समाधान गर्न प्राविधिक काम भइरहेको छ। मर्मत तथा सुरक्षा परीक्षण पूरा भएपछि प्रणालीलाई सकेसम्म छिटो सञ्चालनमा ल्याइनेछ।

ईजीपी बन्द रहेसम्म संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक निकायले बोलपत्रका कागजात हुलाकमार्फत प्राप्त गर्ने र तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

कार्यालयका इन्जिनियर आशिष श्रेष्ठका अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४८ को उपनियम (२) बमोजिम वैकल्पिक प्रक्रियाबाट बोलपत्रसम्बन्धी काम अघि बढाइनेछ।

ईजीपीमार्फत बोलपत्र, आशयपत्र तथा सिलबन्दी दरभाउपत्रलगायतका प्रक्रिया सञ्चालन हुँदै आएको अवस्थामा प्रणाली अवरुद्ध हुँदा सरकारी खरिद प्रक्रिया प्रभावित हुने देखिएको छ। कार्यालयले भने सुरक्षा जोखिम समाधान गरी प्रणाली छिट्टै पुनः सञ्चालनमा ल्याउने जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083