ट्राफिक प्रहरीमाथिको दुर्व्यवहार : कुशासनको उदाहरण कि हाम्रो सडक संस्कारको प्रतिबिम्ब?

390
shares

राज्यमा निरन्तर सर्वोपरि जिम्मेवारी निर्वाह गर्ने कुनै संयन्त्र छ भने त्यो प्रहरी हो। कानून कार्यान्वयन गराउने मुख्य जिम्मेवारी बोकेको निकायका रूपमा प्रहरीलाई लिइन्छ। समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने क्रममा प्रहरीको भूमिका हरेक मोडमा अपरिहार्य हुन्छ।

कतै चोरी–डकैती भयो भने प्रहरी खोजिन्छ। राज्यविरुद्धका हिंसात्मक तथा आतंककारी गतिविधि भए प्रहरी अग्रपंक्तिमा उभिनुपर्छ। बेवारिसे शव भेटिए त्यसको व्यवस्थापनदेखि हुलदंगा नियन्त्रणसम्म प्रहरीकै जिम्मेवारी हुन्छ। प्राकृतिक वा अप्राकृतिक विपत्ति आइपर्दा उद्धारमा प्रहरी पुग्छ। पारिवारिक विवाददेखि सीमा विवादसम्म, सवारी दुर्घटनादेखि अन्य आकस्मिक घटनासम्म प्रहरी नै पहिलो उद्धारकर्ता र सुरक्षाकर्मीका रूपमा खटिन्छ।

मन्त्रीदेखि विशिष्ट व्यक्तिको सुरक्षामा पनि प्रहरी नै खटिन्छ। अनि सडकको धुलो, धुवाँ र घाममा उभिएर दिनरात ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पनि प्रहरीकै काँधमा हुन्छ। तर विडम्बना के छ भने—समाजको हरेक संकटमा प्रहरीको खोजी हुन्छ, तर सबैभन्दा बढी आक्रोश, अपमान र दुर्व्यवहारको सामना पनि प्रहरीले नै गर्नुपरिरहेको छ।

पछिल्लो समय ट्राफिक प्रहरीमाथि हुने दुर्व्यवहारका घटना सार्वजनिक भइरहेका छन्। सडकमा नियम कार्यान्वयन गराउने क्रममा प्रहरीमाथि नै आक्रोश पोख्ने, हातपात गर्ने वा धम्की दिने प्रवृत्तिले गम्भीर प्रश्न जन्माएको छ।

हाम्रो सडक संस्कारलाई नियाल्ने हो भने समस्या केवल ट्राफिक प्रहरीमा मात्र छैन। जथाभावी हर्न बजाउने, लेन मिच्ने, गलत दिशाबाट ओभरटेक गर्ने, उछिनपाछिन गर्दै सवारी चलाउने, जेब्राक्रसिङमा समेत गति नघटाउने, निषेधित स्थानमा पार्किङ गर्ने जस्ता गतिविधिले सडक अनुशासनको अवस्था प्रस्ट पार्छ। यस्तो अवस्थामा ट्राफिक प्रहरीले नियम पालना गराउन खोज्दा सहयोग गर्नुको सट्टा उल्टै प्रहरीमाथि नै जाइलाग्ने प्रवृत्ति किन बढिरहेको छ?

हालै काठमाडौंमा ट्राफिक प्रहरीको कारबाहीको विषयलाई लिएर दुई चालकले शरीरमा आगो लगाएको घटनाले पनि हाम्रो सडक अनुशासन, कानूनी चेतना र सामाजिक मनोविज्ञानबारे गम्भीर प्रश्न उठाएको छ। यस्ता घटनाको वास्तविक कारण र जिम्मेवारीबारे निष्पक्ष अनुसन्धान आवश्यक छ। तर कुनै पनि घटनामा तथ्य र कानूनी प्रक्रियालाई बेवास्ता गर्दै ट्राफिक प्रहरीलाई मात्र एकतर्फी दोषी देखाउने प्रवृत्तिले समस्या समाधान गर्दैन।

नियम उल्लंघन गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउनु प्रहरीको जिम्मेवारी हो। तर त्यसैगरी प्रहरीको कार्यसम्पादन पनि कानून, प्रमाण र निर्धारित प्रक्रियाअनुसार हुनुपर्छ। प्रहरी र नागरिकबीचको सम्बन्ध अविश्वास, आक्रोश र टकरावमा होइन, कानून र पारस्परिक सम्मानमा आधारित हुनुपर्छ।

हामीले एउटा कुरा बुझ्नैपर्छ—ट्राफिक प्रहरी सडकमा नागरिकलाई दुःख दिन उभिएको हुँदैन। सडकमा हुने दुर्घटना, जाम र अव्यवस्था न्यूनीकरण गर्दै सुरक्षित आवागमन सुनिश्चित गर्नु उसको जिम्मेवारी हो। नियम पालना गराउने क्रममा गल्ती भए गुनासो गर्ने कानूनी र संस्थागत बाटो छन्; तर त्यसको विकल्प प्रहरीमाथि दुर्व्यवहार वा हिंसा हुन सक्दैन।

कल्पना गरौँ, ट्राफिक प्रहरीले पनि निरन्तरको अपमान र जोखिमबाट निराश भएर दुई दिन आफ्नो जिम्मेवारी निर्वाह नगरे के होला? सडकमा कस्तो अराजकता सिर्जना हुन सक्छ? त्यसपछि मात्रै हामीले सडक व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिकाको वास्तविक महत्त्व महसुस गर्ने अवस्था आउन सक्छ।

सडक केवल आवतजावत गर्ने ठाउँ मात्र होइन, हाम्रो सामाजिक संस्कार र अनुशासनको ऐना पनि हो। सडकमा कानूनको सम्मान गर्ने संस्कार विकास गर्न सके त्यसले राज्यमा सुशासन र जिम्मेवारीको संस्कृति बलियो बनाउन योगदान पुर्‍याउँछ।

प्रहरीमाथि आलोचना गर्न पाइन्छ, प्रश्न उठाउन पाइन्छ र प्रहरीको गलत कार्य भए कानूनी प्रक्रियाबाट जवाफदेही बनाउनुपर्छ। तर प्रहरीलाई अपमान, तिरस्कार र अवज्ञा गरेर शान्ति, सुरक्षा र सुशासनको अपेक्षा गर्न सकिँदैन।

त्यसैले प्रश्न ट्राफिक प्रहरीको मात्र होइन, हाम्रो आफ्नै सडक संस्कारको पनि हो। नियम पालना गरौँ, प्रहरीलाई आवश्यक सहयोग गरौँ र गल्ती भए कानूनसम्मत रूपमा प्रश्न गरौँ। सडक अनुशासन राज्यको मात्र जिम्मेवारी होइन—यो हामी सबैको साझा दायित्व हो।

लेखक : भुमिराज अधिकारी स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083