परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारत जाँदै
वि.सं.२०७७ पुस १० शुक्रवार १५:५८
shares

काठमाडौ । केही भारतीय सञ्चारमाध्यमले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमण गर्न लागेको समाचार छापेका छन्। नेपालमा राजनीतिक संकट जारी रहेका बेला प्रधानमन्त्री ओली जनवरी पहिलो साता नयाँदिल्ली जान लागेको समाचारमा उल्लेख छ।
नेपाली पक्षले भने प्रधानमन्त्री ओलीको तत्काल भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीको भ्रमणबारे आफूलाई कुनै जानकारी नभएको बताए।
‘परराष्ट्र मन्त्री भारत जाने कुरा पहिलादेखि नै हो। प्रधानमन्त्रीको भ्रमणबारे त मलाई केही जानकारी छैन,’ भट्टराईले भने। नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भ्रमणको तयारी भइरहे पनि प्रधानमन्त्रीको भ्रमणबारे जानकारी नभएको उल्लेख गरेको छ।
दूतावासका प्रवक्ता हरि ओडारीले परराष्ट्र मन्त्रीको भ्रमणको मिति टुंगिन बाँकी रहे पनि दुबै पक्षले तयारी गरिरहेको बताए।
परराष्ट्र मन्त्रीज्यूको भ्रमणका लागि नयाँदिल्ली र काठमाडौंमा तयारीहरू भइरहेका छन्। तर मिति भने टुंगिएको छैन,’ उनले भने,‘केही दिनमै प्रधानमन्त्रीको भ्रमण हुनेबारे दूतावासमा जानकारी छैन। राजनीतिक स्तरमा भएको भए थाहा छैन।’
यसअघि भारतीय विदेश मन्त्री एस जयशंकरले दुई पक्षीय वार्ताका लागि परराष्ट्र मन्त्री ज्ञवालीलाई निम्तो पठाएका थिए। मंसिर ११ गते काठमाडौं आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले उक्त निम्तो ज्ञवालीलाई हस्तान्तरण गरेपछि मन्त्रालयले भ्रमणको तयारी थालेको थियो। नेपाल-भारतका विदेश मन्त्रीबीच सीमासम्बन्धी विवाद लगायत विषयमा कुराकानी हुन लागेको छ।
नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले आन्तरिक मामला भनेको छ। बिहीबारको भिडिओ ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालमा विकसित घटनाक्रमलाई भारतले नोट गरेको बताएका थिए ।






























