संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

वि.सं.२०८२ जेठ २९ बिहीवार १४:५२
shares

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने प्रयास भइराखेको छ । बुधबार संसद् भवन नयाँ वानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले संसद्को अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भइराखेको बताएका थिए । उनका अनुसार, अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भइरहेका कमजोरी सच्याउन आवश्यक पहल गर्ने विषयलाई दुई बुँदामा समेटेर सहमतिको प्रयास भइराखेको हो । विपक्षी दलका नेताहरू आज पनि संसद् भवन परिसरमा जुटेर सोही दुई बुँदे मस्यौदाबारे छलफल गरिरहेका छन् ।
कांग्रेस र माओवादीका बीचमा दुई बुँदामा सहमति गर्नेगरी यसअघि नै मस्यौदा प्रस्तुत भएको थियो । पहिलो बुँदामा अख्तियारले अनुसन्धान सकिनेबेलासम्म सरकार र संसदले सहयोग गर्ने उल्लेख छ । अख्तियारले जानकारी अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसक्ने अपारदर्शी रुपमा आर्थिक लेनदेन भएरनभएको अध्ययन गर्न आवश्यक निकाय वा संयन्त्र बनाउने भनेर दोस्रो बुँदामा राख्ने गरी मस्यौदा तयार भएको छ । यस्तो मस्यौदामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तयार भएको छैन । सुरुमा मौन रहेको एमाले पछिल्लो समय प्रस्तावित दुई बुँदे सहमतिको मस्यौदाअनुसार अगाडि बढ्न सकिने निष्कर्षमा पुगेको हो । यही विषय एमालेका सांसद भट्टराईले पत्रकारहरूसँग राखेका हुन् । रास्वपाले भने छुट्टै ५ बुँदे प्रस्ताव ल्याएको छ । जसमा भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने प्रस्ताव छ । यसलाई सत्तापक्षले स्वीकार गरेको छैन ।