तीनकुने–सूर्यविनायकको जाम अध्ययन गर्न जापानी टोली काठमाडौंमा

7.63K
shares

 काठमाडौं ।

तीनकुने–सूर्यविनायक खण्डको कोटेश्वरमा देखिने सवारी जामको समस्यालाई मध्यनजर गर्दै त्यसको व्यवस्थापन गर्न जापानी अध्ययन टोली काठमाडौं आइपुगेको छ।

सडक विभागका महानिर्देशक केशव शर्माका अनुसार जापानी सहयोग संस्था जाइकाका प्राविधिक टोली तीनकुने–सूर्यविनायक सडकको अध्ययन गर्न आएको हो।

‘जापानी टोली तीनकुने–सूर्यविनायक सडकको अध्ययन गर्नका लागि एक हप्ताअघि मात्रै आइपुगेको हो। उनीहरू अध्ययन गर्ने तयारीमा छन्। हामीले त्यसको सहकार्य गरिरहेका छौं।’ –शर्माले भन्नुभयो।

कोटेश्वरको जामको समस्या समाधान गर्न तीनकुने–सूर्यविनायक सडकलाई केन्द्रित गरी प्राविधिक टोली सम्भाव्यता अध्ययन गर्न आएको बताउँदै विभागका प्रवक्ता शिव सापकोटाले भन्नुभयो– ‘उनीहरूले अहिले आवश्यक तथ्यांक संकलन गर्नेछन्। एक वर्षभित्र सम्भाव्यता अध्ययनको प्रतिवेदन आउन सक्छ।’

विभागका महानिर्देशक शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गासमेत लिएर सडकलाई व्यवस्थित गर्न लागिएको बताउनुभयो। तीनकुने–सूर्यविनायक सडक अन्डरपास भएर जाने वा फ्लाइओभर गर्ने भन्ने विषयमा अध्ययनपछि मात्रै भन्न सकिने महानिर्देशक शर्माले जानकारी दिनुभयो।

चीन सरकारले कलंकीदेखि कोटेश्वरसम्मको सडकखण्ड चौडासहित स्तरीयरूपमा विस्तार गरे पनि त्यसअघि बाँकी खण्ड चौडा नहुँदा पनि त्यसको चाप कोटेश्वरमा परिरहेको छ। पिक आवरमा सूर्यविनायकबाट काठमाडौं छिर्न र फर्किन घण्टौं जाममा पर्नुपरेको यात्रुको गुनासो छ। सूर्यविनायक भएर सिन्धुलीको बाटो हुँदै चल्ने सवारीको चाप कोटेश्वरमै पर्दा यात्रु झन् समस्यामा परेका छन्।

सरकारले पनि कोटेश्वरको समस्यालाई समाधान गर्न तीनकुने हुँदै सूर्यविनायकतर्फ जाने आउने सवारीसाधनलाई अन्डरपास गर्न बजेटसमेत छुट्याइसकेको सडक विभागले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083