ओलीले प्रधानमन्त्री बनाई दिन्छु भनेपछि वामदेव दंग
वि.सं.२०७७ वैशाख १८ बिहीवार ११:३०
shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । यसअघि पार्टीले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्दासमेत सिफारिस नगरेका ओलीले बुधबारको सचिवालय बैठकमा एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।
संसद नै नरहेका गौतमलाई ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि सचिवालय बैठकमा नेताहरु आश्चर्यचकित बनेका थिए । अहिलेको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्य भएर पनि प्रधानमन्त्री बन्न नसक्ने अवस्था रहेकोमा ओलीले यस्तो प्रस्ताव गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यस्तै ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव समेत गरेको एक सचिवालय सदस्यले जानकारी दिए ।
आफूविरूद्ध एकजुट भएका सचिवालयका बहुसंख्यक सदस्यलाई विभाजित गर्ने मनसाय र आसन्न संकट टार्ने अपेक्षाका साथ प्रधानमन्त्री ओलीले यो प्रस्ताव ल्याएका हुन्। नौ सदस्यीय सचिवालयमा ओली अहिले अल्पमतमा छन्।
बैठकमा सधैं आफू पहिले र लामो बोल्ने परम्पराविपरीत प्रधानमन्त्री ओलीले बुधबार आफू नबोली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोल्न दिएका थिए।
आफ्नो भनाइ राख्दै प्रचण्डले प्रधानमन्त्री ओली सुरूदेखि नै पार्टी एकताविरोधी गतिविधिमा लागेको, आफ्ना मानिसहरूको भेला गराउँदै हिँडेको र आवश्यक परे पार्टी फुटाउने नियतका साथ काम गरेको आरोप लगाए।
‘तपाईंले पहिलो केन्द्रीय समिति बैठकदेखि नै एकताविरोधी गतिविधि गर्नुभयो,’ उनले भने।
ओलीले यसपालि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पनि अरू पार्टीका लागि भन्दा आफ्नै पार्टी फुटाउने नियतका साथ आएको प्रचण्डले आरोप लगाए। त्यस्तै, संवैधानिक परिषद ऐन संशोधन गर्ने अध्यादेश ल्याएर सत्ता कब्जा गर्न खोजेको उनले बताए।
‘तपाईंले सधैं पार्टीविरोधी गतिविधि गरेकाले अब राजीनामा गर्नुस् र सत्ता छाड्नुस्,’ प्रचण्डले भने। प्रचण्डले आफ्नो भनाइ सक्नेबित्तिकै प्रधानमन्त्री ओलीले अरूलाई बोल्न नदिई आफू बोल्छु भने।
उनले धेरै प्रसंग नबाँधीकन वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे। उनले भने, ‘कोरोना महामारीको समस्या सकिएपछि अनुकूल समयमा म राजीनामा दिन्छु, वामदेव (गौतम) लाई प्रधानमन्त्री बनाऊँ।’
‘राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गरेर वा कुनै निर्वाचन क्षेत्र खाली गरी उहाँलाई जिताएर प्रधानमन्त्री बनाऊँ,’ बैठकमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म दुवै विकल्पका लागि तयार छु।’
बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए ।
तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा देखिए । बैठकमा लामो भूमिकासहित आफ्नो बचाउमा उत्रिएका ओलीले आफू प्रधानमन्त्री नहुने भए बामदेव गौतमलाई कोरोनाको महामारीपछि बनाऔं भन्दै प्रस्ताव गरेका थिए । यस्तै उनले पार्टीमा माधव नेपालको भूमिका उल्लेखनीय रहेको भन्दै माधव नेपाललाई पनि तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । हाल नेकपामा ओली र प्रचण्ड अध्यक्षकाे भूमिकामा छन् । उनको प्रस्ताबारे नेताहरुले खासै टिप्पणी गरेनन् भने यसबारे थप छलफल गर्नेगरी बैठक सकिएको थियो ।
बोल्ने पालो वामदेव गौतमको आयो। ‘उहाँले मलाई अर्को प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभयो। मलाई त यो सपनाजस्तै भयो। यस्तो प्रस्ताव आउला भन्ने मैले सोचेको थिइनँ,’ उनले भने।
प्रधानमन्त्रीको प्रस्तावमा समर्थन गर्दै उनले अगाडि भने, ‘प्रधानमन्त्रीको प्रस्ताव ठिक छ। अब स्थायी समिति बैठक बोलाउन आवश्यक छैन। सचिवालय बैठकले नै यसबारे निर्णय गरौं।’नेकपामा प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि विवाद चर्किएको छ ।





























