विद्यार्थी आन्दोलनको वर्तमान स्थिति
विद्यार्थीका मुद्दा छाडेर पार्टीका सीमित नेताको स्तुतीगान गरिरहेका छन्, पार्टीको नेताहरूले पनि आफूले भनेको मान्ने कार्यकर्ता उत्पादन गर्न विद्यार्थी राजनीतिको प्रयोग गरिरहेका छन्
-भुमिराज अधिकारी
नेपालको समग्र सामाजिक राजनीतिक जागरण र रूपान्तरणमा विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको इतिहास हामीसामु साक्षी छ । विद्यार्थी आन्दोलनसँग जोडिएका त्याग, बलिदानी र संघर्षका कथाहरू इतिहासमा स्वर्ण अक्षरले लेखिएका छन् । विद्यार्थी आन्दोलनले जहाँनिया निरंकुश राणाशासनको अन्त्यतिर रुढीवादी नेपाली समाजमा राजनीतिक तथा सामाजिक जागरणको सुरुवात गर्यो । त्यसैको जगमा वाम-प्रजातान्त्रिक आन्दोलनको उठान गर्दै त्यसलाई राष्ट्रव्यापी रूपमा व्यापक बनाउन पनि विद्यार्थी आन्दोलनले स्थापनाकालबाट नै महत्वपूर्ण भूमिका खेल्दै आएको थियो ।
जनताको वाक स्वतन्त्रता र सर्वसाधारणले पढ्न पाउने अधिकार माथिको प्रतिबन्ध थियो । राणा शासकहरूको बोली नै कानुन बन्ने चरम दमन र निरंकुशताको बीचमा ऐतिहासिक पहलकदमी सहित विद्यार्थी आन्दोलन संगठित भएको देखिन्छ । तसर्थ, विद्यार्थी आन्दोलनको सुरुवाती इतिहास नै बहुआयामिक रूपमा गौरवपूर्ण रहेको पाइन्छ ।
गंगालाल श्रेष्ठदेखि चीनकाजी श्रेष्ठसम्मका नेताहरूको बलिदानीपूर्ण संघर्षले आन्दोलनको इतिहास सिञ्चित छ । जहानियाँ राणाशासन, पञ्चायत हुँदै राजतन्त्रविरुद्धको संघर्षमा विद्यार्थी विद्यार्थी आन्दोलनले भयानक त्याग र बलिदान गरेको इतिहास छ । १ असार २००४ मा ‘जयतु संस्कृतम’ नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुवात भएको पाइन्छ । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएपछि ‘जयतु संस्कृतम्’ नामको संगठनकै वैचारिक जगमा प्रगतिवादी सोच भएका विद्यार्थीहरूले नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन (नेराविफे) को स्थापना गरेका थिए । २००७ सालमा भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांग्रेसले त्रिपक्षीय रूपमा गरेको राष्ट्रघाती दिल्ली सम्झौता धोका हो भन्दै नेराविफेले व्यापक भण्डाफोर अभियान सुरु गर्यो । २०२२ सालमा नेराविफेकै शैक्षिक र राजनीतिक सङ्घर्ष र बलिदानको जगमा अनेरास्ववियु र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को स्थापना भएको पाइन्छ ।
२२ चैत २०३५ मा पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई त्यहाँको सैन्य शासकद्वारा फाँसी दिएको विरोधमा पाकिस्तानी दूतावासलाई विरोधपत्र बुझाउने कार्यक्रम अन्तर्गत लैनचौरबाट पानीपोखरीतिर गएको विशाल विद्यार्थी जुलुस र प्रहरीका बीचमा भिडन्त भयो । पछि त्यसले शक्तिशाली आन्दोलनको रूप लियो र सोही कारण १० जेठ २०३६ मा तत्कालीन पञ्चायत जनमत संग्रह घोषणा गर्न बाध्य भयो ।
२०४६ सालको परिवर्तन विद्यार्थी आन्दोलनकै कारण सम्भव भयो । माओवादी जनयुद्धको अवधिमा राजनीतिक दलहरू जनतामा जान पाएनन् । निरंकुश शाही कदमका कारण राजनीतिक गतिविधि अवरुद्ध भयो । त्यतिबेला विद्यार्थीले आफ्ना शैक्षिक तथा राजनीतिक गतिविधिहरू मार्फत जनतासँग सम्बन्ध स्थापित गरिराखे । परिणामतः निरंकुश राजतन्त्र विरोधी आन्दोलनको उठान हुँदै त्यो जनआन्दोलनमा बदलियो । यसरी २०६२/६३ सालको परिवर्तनको जगमा विद्यार्थी आन्दोलनको भूमिका रह्यो ।
विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तनसँगै शैक्षिक तथा प्राज्ञिक आन्दोलन, राष्ट्रियता, जनजीविका र सामाजिक रूपान्तरणमा योगदान गरेको छ । विद्यार्थीकालमा राजनीति सुरु गरेका नेताहरू अहिले विभिन्न तहतप्कामा पुगेर पार्टी र राज्यकै नेतृत्व गरेका छन् । यसरी इतिहासमा विद्यार्थी आन्दोलनले राजनीतिमा महत्वाकांक्षा राख्नेहरूका लागि उपयुक्त मैदान तयार पार्दै आएको छ ।
इतिहास साक्षी छ, राजनीतिक परिवर्तन, सामाजिक जागरण र लोकतान्त्रिक आन्दोलनका हरेक मोडमा विद्यार्थी आन्दोलन अग्रभागमा उपस्थित रहँदै आयो । राष्ट्रियताको पहरेदारको रूपमा दबाब, जागरण र खबरदारीको झण्डा हमेसा विद्यार्थी आन्दोलनले नै उठाउँदै आयो । जनजीविकाको ज्वलन्त सवालहरूमा सबैभन्दा पहिला र अग्रभागमा विद्यार्थी आन्दोलन देखिने गरेकै हो । आज यातायातका साधनहरूमा विद्यार्थीलाई परिचयपत्रको आधारमा जुन ४५ प्रतिशत छुट उपलब्धि विद्यार्थी आन्दोलनकै कारण सम्भव भयो । यसरी सामाजिक जागरण, राजनीतिक चेतना र बलिदानीको जगमा नेपालको विद्यार्थी आन्दोलन खडा भएको छ ।
त्यस्तो गौरवपूर्ण इतिहास बोकेको विद्यार्थी आन्दोलन आज विभिन्न कारणले आलोचित र समस्याग्रस्त बनेको छ । यससँग जोडिएका कारणहरूको वस्तुनिष्ट समीक्षा गर्दै विद्यार्थी आन्दोलनलाई सही मार्गमा डोहोर्याउन सकिन्छ ।
विद्यार्थी आन्दोलनको वर्तमान स्थिति
आज विद्यार्थी आन्दोलनको वर्तमान अवस्था विचलित छ । वैचारिकता र आन्दोलन केन्द्रीकृत गर्ने कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन । दयनीय अवस्थामा रहेका नेपाली विश्वविद्यालयले केवल विश्व बजारका सस्ता श्रमिकहरू उत्पादन गरिरहेका छन् । यो अवस्था नदेख्ने विद्यार्थी नेताहरू दलको पक्षपोषणमा स्पर्धा गरिरहेका छन् । विद्यार्थीका मुद्दा छाडेर पार्टीका सीमित नेताको स्तुतीगान गरिरहेका छन् । पार्टीको नेताहरूले पनि आफूले भनेको मान्ने कार्यकर्ता उत्पादन गर्न विद्यार्थी राजनीतिको प्रयोग गरिरहेका छन् तसर्थ पार्टीभित्रको गुटबन्दीको अभ्यास गर्ने थलोको रूपमा विद्यार्थी राजनीतिको प्रयोग बढ्दो छ । हिजो समान शिक्षाको निम्ति आवाज उठाउने विद्यार्थी नेताहरू आज निजी क्याम्पसको सम्बन्धन दिलाउन दलाली गर्ने, नीजि विद्यालयको संचालक बन्ने निजी विद्यालयको पुस्तक वितरक बन्ने परिपाटी विकास भएको पाइन्छ ।
राजनीतिक वैचारिक जागरणको जगमा उठेको विद्यार्थी आन्दोलनमा आज त्यस्तो राजनीतिक जागरण, जाँगर र बलिदानीको कुनै गुन्जायस भेटिंदैन । विद्यार्थी आन्दोलनको औचित्य र सान्दर्भिकता सकिएको बहस प्राज्ञिक संस्था र सामाजिक आन्दोलनहरूमा हुन थालेको छ ।
तर शिक्षालय र विद्यार्थीहरू रहुन्जेल विद्यार्थी संगठन र आन्दोलनको सान्दर्भिकता किमार्थ समाप्त हुँदैन । थप कुन्ठित हुँदै गएको विद्यार्थी हकहित, कष्टकर हुँदै गएको जनजीविकाका सवाल, कमजोर बन्दै गइरहेको राष्ट्रियताका मुद्दा, पुँजीवादको नाङ्गो हस्तक्षेपको बीचमा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको होइन । हिजोभन्दा अझ जिम्मेवार र सशक्त ढंगले विद्यार्थी आन्दोलनलाई स्थापित गर्नु आजको मुख्य आवश्यकता हो ।
आखिर किन कमजोर हुँदैछ बिद्यार्थी आन्दोलन ?
पटक-पटक छलफल र बहस गरिनु पर्ने महत्वपूर्ण र विशिष्ठ मुद्धा भनेको हालको विद्यार्थी आन्दोलनको स्थिति हो। स्पष्ट भन्नु पर्दा, हाल आएर विद्यार्थी आन्दोलन र यसको अस्थित्व माथि प्रश्न चिह्न उठेको अवस्था छ। ‘विद्यार्थी संगठनहरुले उठान गरेका विशेष मुद्धा के ? विद्यार्थी आन्दोलनको हालको उपलब्धी के ? कहाँ पुग्यो विद्यार्थी आन्दोलन? अबको विद्यार्थी आन्दोलनको रोड म्याप कस्तो रहने ?’ आजको दिनमा यस्ता यावत् सवालहरु माझ छ विद्यार्थी आन्दोलन !
विद्यार्थी आन्दोलन यो धरासाही स्थितिमा आइ पुग्नुमा कमजोरी कसको ? यसरी औचित्य माथिको औँला ठड्याइलाई बेवास्ता गर्नु विद्यार्थी राजनैतिक अभियन्ताहरुको कमजोरी अवश्य हो। विद्यार्थी आन्दोलन वर्तमानमा विचलित छ भनेर अध्ययन गर्नु पूर्व यसको प्रारम्भ र विकासको गर्वीलो इतिहास माथि पनि विचार गर्नु पर्ने हुन्छ किनकी आजको विद्यार्थी राजनीतिकोे थाङ्ग्रो भने कै हिजोका यूवा विद्यार्थी मोर्चाको संघर्षशिल बलिदानी हो।
विगत फर्केर हेर्दा नेपाललाई नेपाल बनाउन विद्यार्थी मोर्चाबन्दी र उनीहरुले बोकेको आन्दोलनका मुद्दाहरुको भूमिका महत्वपूर्ण र प्रशंसनीय बन्न जान्छ। हाल आएर विद्यार्थी संगठनहरुको कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन जसमा तिनीहरुको बैचारिकता र आन्दोलन केन्द्रिकृत बनेको होस्। अर्को कुरा, पार्टीको संरचनामा भित्र आफ्नो सांगठानिक गतिविधिलाई जोडेर विद्यार्थी राजनीति किमार्थ अघि बढ्नै सक्दैन।
यस बाहेक पनि बीच बीचमा विद्यार्थी मुद्धाहरुलाई सरकारसँग जोड्ने, शैक्षिक कुरीतिका विरुद्धमा सृजनशिल आन्दोलन चलाउने मात्र नभएर राजनैतिक सवालमा पनि ठूला ठूला रक्तपात युक्त आन्दोलन देखि वैचारिक आन्दोलनमा काँध थापेर लागेको विद्यार्थी राजनीति र विद्यार्थी संगठनको यो मुलुकलाई नेपाल बनाउनुमा अति नै महत्वपूर्ण भूमिका रहेको सर्वविदितै छ। चाहे उपभोक्ता अधिकारको लागि होस, या किसान मजदुर, सिमान्तकृत पिडित शोसित सबैको हक र अधिकारको माग र सुनिश्चितामा जिम्वेवारी पूर्वक निरन्तर संघर्षशिल विद्यार्थी अभियान हाल आएर धरासाही बन्नुमा संगठनको नेतृत्व र हालको राजनैतिक परिवेश मूख्य जिम्मेवार रहनुपर्छ।
गर्विलो र दर्भिलो पृष्ठ भूमि बोकेको, लामो अनुभव सहितको र अत्याधिक प्रयोगमा रहेको नेपालको विद्यार्थी राजनीतिको वर्तमान भने घिन लाग्दो बनेको छ। हाल आएर विद्यार्थी संगठनहरुको कुनै एउटा निर्दिष्ट उद्देश्य बनेको छैन जसमा तिनीहरुको बैचारिकता र आन्दोलन केन्द्रिकृत बनेको होस्।
उचित कार्यदिशाको अभाव, कमजोर वैचारिक धरातल र राजनैतिक स्वार्थ पूर्तिको आधारको रुपमा विद्यार्थी संगठनलाई लिइनुले हालको परिस्थितिमा विद्यार्थी आन्दोलन विचलित बनेको छ। केही सार्वजनिक कलेजहरूमा थोरै जमातमा रहेका विद्यार्थी संगठनहरू विद्यार्थी हकहितको निम्ति भन्दा पनि, कसले कति विद्यार्थी छिराएबापतको कमिशन उठाउन, शैक्षिक संस्थामा अनावश्यक हडताल, स्रोतसाधनको दुरूपयोग र सरुवा–बढुवामा मात्र केन्द्रित छन्।
यो बेला विद्यार्थी संगठनहरु एकिकृत माइण्डफोर्स प्रयोग गरेर विश्वविद्यालयको शैक्षिण गुणस्तरियताको निम्ति सृजनशिल आन्दोलनमा पूर्ण रुपमा लाग्नु पर्दछ। अहिले संघीयतामा मुलुक गइ सके पछि त्यही अनुरुपको शैक्षिक मोडालिटी अपनाउन सक्दा शिक्षा उत्पादनशिल हुन्छ।
आफ्नो संगठन र प्रभावलाई विस्तार गर्न विद्यार्थी संगठनलाई आधार सूत्रको रुपमा प्रयोग गर्ने नेपालका राजनैतिक दलहरुले नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) आदि जस्ता मूल विद्यार्थी संगठनको मूल एजेण्डालाई निस्तेज पारे, पार्टीको स्वार्थगत आन्दोलनमा मसाल बोक्न र टायर बाल्न विद्यार्थी संगठनलाई ‘युज’ गर्ने गरेका छन्। वैकल्पिक विद्यार्थी आन्दोलनको शंखघोष गर्दै अगाडि आएको नयाँ शक्ति विद्यार्थी युनियन पनि मूल पार्टीको ढुलमुल र टुटफुट भित्र आफ्नै अस्तित्व खोजि रहेको छ।
अब विद्यार्थी आन्दोलनको औचित्य नै सकिएको हो त ? भन्ने सवाल सर्वत्र उठ्ने गरेको छ। त्यसो त विद्यार्थी संगठनले बेला बेलामा आफ्नो आन्दोलन र संघर्षको शैलि र मुद्धामा पनि वैचारिक छलफल गरेर फेरवदल गर्न सक्नु पर्यो तर त्यसो हुन सकेन यसको दोस अरु कसैलाई नदिएर सिंगो पार्टी पंक्ति एवम् अध्ययन र गन्तव्यहीन विद्यार्थी अभियन्ता आफैंले लिनुपर्छ। २०४६ को आन्दोलन पछि पञ्चायत स्वाहा भइ सकेको अवस्थामा त्यसै अनुसारको विद्यार्थी मुभमेन्ट र मुद्दा जन्माउन सक्नु पर्ने थियो, त्यो हुन सकेन। छलफल र बहसहरु यदाकदा सुनिने दन्त्य कथा जस्तै भएका छन् र पनि निरर्थक तथा गन्तव्यहिन छन् जसले कुनै ठोस दिशा र निर्णय लिन सकेको पाइन्न। साना तिना झारे झुरे मुद्दामा घुमि रहेर विद्यार्थी संगठनहरु आफ्नो औचित्य पुष्टि गर्नै असफल हुँदै छन्।
विश्वविद्यालयलाई राजनैतिक भर्ति केन्द्र नै बनाइएको छ। क्षमताका आधारणमा प्राध्यापकहरुको दरबन्दी गराउने हो भने पनि विश्वविद्यालयहरुको शैक्षिक स्तर आधा भन्दा बढी सुधार हुन्थ्यो। मेरो व्यक्तिगत अनुभवका आधारमा भन्दा देशका धेरै क्याम्पसहरुमा रिसर्च विभागका प्रमूख बनेका प्राध्यापकहरुको रिसर्चको आधारभूत ज्ञान नै छैन। कुन विषयमा विद्यार्थीले बुझाएको थेसिस र पर्पोजलमा समावेश गरिनु पर्ने क्षेत्रहरु के के हुने, थेसिसको गुणस्तरताको मापन के हुन् आदि जस्ता कुराको समेत जानकारी नभएका रिसर्च विभागका प्राध्यापकहरुले हचुवाका तालमा विद्यार्थीलाई उत्र्तिण गराउँदा त्यसको नतिजा आज नेपालका कुनै पनि साना ठूला रिसर्च प्रोजेक्टहरुको लागि बाहिरबाट विज्ञहरु ल्याउनु परेको दयनिय अवस्था हो। हाम्रो विश्वविद्यालयले केवल लेवर उत्पादन गर्ने हो त ? विद्यार्थी संगठनहरुले आफूले आफैलाई सोध्ने प्रश्न हो।
राजनीतिक दलको बुई चढेर हिंसात्मक मनोवृत्तमा आफूलाई ढाल्ने र आन्दोलनको मुल मर्मलाई लत्याउने प्रणालीलाई बिर्सिएर आर्थिक उपार्जनको माध्यम राजनीति नबनाई वैचारिक र सृजनशिल आन्दोलन अगाडि बढाउन सके मात्र औचित्य माथिको सवाललाई गतिलो जवाफ दिन सक्ने आधार बन्छ।
आन्दोलनबाट विद्यार्थीहरुको निम्ति प्राप्त भएका केही उपलब्धीहरु जस्तै शैक्षिक ऋणको उपलब्धता, सवारी सहुलियत आदिलाई समेत सहज कार्यान्वयनमा ल्याएर सबैको पहुँचमा पुर्याउन सकिएको छैन। यस्ता विषयमा पनि आन्दोलन गम्भीर हुनु पर्ने हो।
राजनीतिक दलको बुई चढेर हिंसात्मक मनोवृत्तमा आफूलाई ढाल्ने र आन्दोलनको मुल मर्मलाई लत्याउने प्रणालीलाई बिर्सिएर आर्थिक उपार्जनको माध्यम राजनीति नबनाई वैचारिक र सृजनशिल आन्दोलन अगाडि बढाउन सके मात्र औचित्य माथिको सवाललाई गतिलो जवाफ दिन सक्ने आधार बन्छ। विश्वविद्यालय र यस अन्तर्गतका कलेजहरुमा पठन पाठनको स्तर तोक्न, सक्षम प्राध्यापक नियुक्ति गर्न, विश्वस्तरीय शैक्षिक नीति र प्रणालीलाई नेपाल मै अवलम्बनको निम्ति अभियान चलाउने र वार्षिक पढाइको नाममा विदेशिने दक्ष विद्यार्थीलाई नेपालमै राख्न, कुनै पनि वहानामा हुने वन्द र हडतालको प्रभाव शिक्षामा पर्न नदिने जस्ता सकारात्मक काममा विद्यार्थी संगठनहरुले कसरत गर्ने हो भने उनीहरुको औचित्य माथि प्रश्न उठाउनु कूनै पनि हालतमा युक्ति संगत होइन।
वैज्ञानिक शिक्षा प्रणाली, जीवनमूखी र जनमूखी शिक्षा, शिक्षामा राजनैतिक भागवण्डाको अन्त्य र नेपाली विश्वविद्यालयलाई विश्वस्तरका विश्वविद्यालयसँग जोड्ने शैक्षिक मापदण्ड र पूर्वाधारको विकास गर्ने जस्ता कार्यक्रम तर्फ अगाडि बढ्न एकिकृत माइण्डफोर्सको प्रयोग गर्दै बदनाम हुँदै गएको विद्यार्थी आन्दोलनलाई सर्वप्रिय बनाउनका निम्ति वैचारिक र सांगठानिक तयारीमा लाग्नु नै आज क्रियाशिल विद्यार्थी संगठनहरुको अपरिहार्यता हो। अबको आन्द्धोलनमा विद्यार्थी संगठन जिम्मेवार बन्न जरुरी छ। यदि होईन भने विद्यार्थी संगठनको औचित्य नरहन पनि सक्छ।
लेखक : भुमिराज अधिकारी अखिल (क्रान्तिकारी) का युवा विद्यार्थी नेता हुन्।
१३ जेठ २०८०, शनिवार १५:४८ बजे प्रकाशित